हरेक चार दिनमा एक पत्रकारको हत्या ः युनेस्को
पेरिस (फ्रान्स), १७ कात्तिक ।
संयुक्त राष्ट्रसङ्घ शैक्षणिक वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले बुधबार सार्वजनिक एक तथ्याङ्कअनुसार पछिल्ला बर्षहरुमा विश्वमा हरेक साढेचार दिनमा एक जना पत्रकारको हत्या हुने गरेको छ ।
पछिल्लो एक दशकमा विश्वभर ८२७ जना पत्रकारलाई आफ्नो जिम्मेवारी बहन गर्ने सिलसिलामा कार्यस्थलमा रहेको अवस्थामा हत्या गरिएको युनेस्कोका महानिर्देशकद्वारा सार्वजनिक गरिएको प्रतिवेदनमा जनाइएको छ ।
यसरी पत्रकारमाथि आक्रमण हुने गरेका घटनाहरु सिरिया, इराक, लिबियालगायतका अरब राज्यहरुमा बढी भएको तथ्याङ्कमा छ ।
अरबपछि पत्रकार बढी असुरक्षित मानिएका मुलुकहरुमा दक्षिण अमेरिका क्षेत्रका मुलुकहरु रहेको बुधबार युनेस्कोद्वारा सार्वजनिक ‘सेफ्टी अफ जर्नालिस्ट एन्ड डेन्जर अफ इम्प्युनिटी’ नामक युनेस्कोको प्रतिवेदनमा जनाइएको हो ।
सन् २००६ देखि सन् २०१५ सम्मका प्रतिवेदनले जनाएअनुसार गत दुई वर्षमा ५९ प्रतिशत घटना द्वन्द्वग्रस्त क्षेत्रमा भएका थिए ।
यो समयमा मारिएका २१३ जना पत्रकारमध्ये ७८ जना पत्रकार (३६.५ प्रतिशत) अरब मुलुकहरुमा मारिएका थिए ।
सम्भवतः पत्रकारमाथिको हिंसा पछिल्लो समय पश्चिमी युरोप तथा उत्तरी अमेरिकामा पनि बढेको देखिएका युनेस्कोले जनाएको छ ।
हरेक देशमा विदेशी पत्रकारको तुलनामा हत्या गरिने पत्रकारहरुमा स्वदेशी पत्रकारनै बढीरहने गरेको युनेस्कोको अध्ययनले देखाएको छ ।
सन् २०१५ मा अनलाइन पत्रकारिता गर्ने पत्रकारहरुमाथिको हिंसामा व्यापक वृद्धि भएको छ । सन् २०१४ को तुलनामा सन् २०१४ मा २१ जना बढी पत्रकार मारिएका छन् । यसरी मारिनेमा आधा सिरियाली अनलाइन पत्रिकासँग आवद्ध भएका पाइएको छ ।
महिला पत्रकारको तुलनामा मारिने पुरुष पत्रकार १० गुणा बढी भएको अर्थात् सन् २०१४÷१५ मा जम्मा १८ महिला पत्रकार मारिएका छन् भने १९५ पुरुष पत्रकारले हिंसाका कारण ज्यान गुमाएका छन् । रासस÷एएफपी