चितवनका ८०२ घर डेङगु पोजेटिभ पाइयो
कपन अनलाइन, १८ कात्तिक, २०७३
चितवनको भरतपुर र रत्ननगरको बजार क्षेत्रमा ८०२ घर डेङ्गु पोजेटिभ पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले चलाएको डेङ्गु रोग लगाउने लामखुट्टेको बासस्थान खोजेर लार्भा नष्ट गर्ने अभियानका क्रममा गरेको स्थलगत अनुगमनमा यस्तो पाइएको हो ।
कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार २० हजार २६७ वटा घरमा गरिएको अनुगमनमा ८०२ घरको एक हजार २५२ कन्टेर र भाँडामा डेङ्गु सार्ने लामखुट्टेका लार्भा भेटिएको हो ।गएको असोज १६ गतेदेखि १८ गतेसम्म यहाँ गरिएको अनुगमन प्रतिवेदनबारे आज जानकारी दिँदै उहाँले रत्ननगर र भरतपुरका बजार क्षेत्रमा डेङ्गु सार्ने लामखुट्टे रहेकाले यस्ता लामखुट्टेबाट बच्न सर्वसाधारणलाई अपिल गर्नुभएको छ । खोजी अभियान तथा स्थलगत अनुगमनमा स्वास्थ्यकर्मीसहित १५० जना स्वयंसेवक परिचालन गररिएको थियो । फेला परेका लामखुट्टेका लार्भा नष्ट भएको कार्यालयले जनाएको छ ।
चितवनको भरतपुर उपमहानगर क्षेत्रमा १६ हजार ४८५ घरमा गरिएको अनुगमनमा ५४९ घर तथा रत्ननगरका तीन हजार ७८२ घरमा गरिएको परीक्षणमा २५३ घर डेङ्गु पोजेटिभ फेला परेको निरीक्षक केसीले जानकारी दिनुभयो । एडिस एजेप्टाई जातको सङ्क्रमित पोथी लामखुट्टेले टोकेमा डेङ्गु सर्छ । यो लामखुट्टेले भाँडामा जमेको सफा पानीमा लार्भा हुर्काउँछ ।
लामखुट्टेको टोकाइबाट बच्ने र भाँडामा एक हप्तासम्म पानी जन्म नदिए यो रोग लाग्नबाट बच्न सकिने चिकित्सक डा विजय पौडेलले बताउनुभयो । चितवनमा भदौदेखि अहिलेसम्म ४५० भन्दा बढीमा डेङ्गु रोग देखिइसकेको छ ।