गोकर्ण–पाखाथोक पक्की सडक निर्माण प्रकृया शुरु
कपन अनलाइन, १७ कात्तिक २०७३
उपत्यकाभित्रै भएर पनि व्यवस्थित यातायात सुविधाबाट वञ्चित गोकर्ण–पाखाथोक सडक अब पक्की हुने भएको छ । कच्ची सडक बनेको २६ वर्षसम्म पनि कच्ची सडकका कारण सार्वजनिक सबारी साधन नचल्दा शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज सीमाक्षेत्रका बासिन्दालाई समस्या परेको थियो । गोकर्णेश्वर नगरपालिकाको वडा नं ६, ९, १० र ११ का बासिन्दा यो सडक पक्की भएपछि लाभान्वित हुनेभएका छन् । विसं २०४७ मा मार्सल जुलुम शाक्य निर्माण तथा यातायातमन्त्री भएका बेला डोजर लगाएर यो सडकको ट्रयाक खोलिएको थियो ।
त्यसबेला सडकको ट्रयाक खोल्न सक्रिय स्थानीयवासी एवम् नेपाली काँग्रेस गोकर्णेश्वर नगर समिति सभापति श्रीकृष्ण ज्योति सडक पक्की भएपछि राष्ट्रिय निकुञ्जसँग जोडिएको गाउँमा जान सहज हुने बताउनुहुन्छ । डिभिजन सडक कार्यालयबाट पक्की सडक निर्माणका लागि रु पाँच करोड ५६ लाख विनियोजन हुनाका साथै निर्माण कम्पनी समेत छनोट भइसकेको छ । गोकर्ण–पाखाथोक तीन किमी सडकमध्ये यसपटक १.८ किमी कालोपत्र गर्न लागिएको हो । सडक कालोपत्र गर्न छानिएको सिएम, विशाल एन्ड विराट जेभी कम्पनीका प्रबन्ध निर्देशक विष्णुभाइ श्रेष्ठ दसैँ अघि नै काम सुरु हुनुपर्ने भए पनि चाडबाडका कारण बिहीबारदेखि काम सुरु हुने बताउनुहुन्छ ।
(फाइल फोटो : दिपेश थापा मगर, कपन अनलाइन )