राजनीतिक हस्तक्षेप हुँदा गाउँ शिक्षा समिति कपन निर्माण स्थगित
हरेक क्षेत्रमा राजनीतिको परिधिले समाज विखण्डित हुँदै गैरहेको वर्तमान सामाजिक परिस्थितिमा विकासका कतिपय अवधारणा समेत राजनीतिले तहसनहस पारिरहेको छ । कपनमा गाउँ शिक्षा समितिको कार्य समिति गठनका क्रममा यस्तै राजनीतिको विखण्डित स्वरुप देख्न पाइयो ।
कपन गाविस वडा नं. १ मा रहेको वालकुमारी निमाविमा आयोजित गाउँ शिक्षा समिति गठन प्रकृयामा कपनमा रहेका राजनीतिक दलहरुको प्रत्यक्ष हस्तक्षेपका कारण समिति गठन निर्णयहीन स्थगित भएको छ । यस गाउँ शिक्षा समितिले गाविसको समग्र शैक्षिक कार्ययोजना बनाउँने गर्दछ ।
कपनमा विद्यालय व्यवस्थापन समिति निर्माणमा पनि यस्तै राजनीतिक हस्तक्षेप हुने गरेकोमा गाउँ शिक्षा समिति निर्माणमा पनि राजनीतिक भागवण्डाको कुरा नमिल्दा कार्यक्रम स्थगित हुन पुगेको हो । सदस्यसचिव पदमा ग्राम शिक्षा मन्दिर मावि बस्ने कि बालउद्धार उ.मा.वि रहने भन्ने विषयले राजनीतिक रुप लिँदा कार्यक्रम अनिश्चितकालिन स्थगित भएको हो ।
कपनमा रहेका सम्पूर्ण विद्यालयहरुका प्र.अ., CIWISH साथै CDS का प्रतिनिधिहरु, जिल्ला शिक्षा कार्यालयका प्रतिनिधि, विद्यालय निरीक्षक तथा श्रोत व्यक्तिहरुको को उपस्थिति रहेको कार्यक्रममा कपगाउँ शिक्षा समिति गठनमा प्रभाव पार्न वालकुमारी निमाविमा उपस्थित थिए । गाउँ शिक्षा समितिको अध्यक्षमा गाविस सचिव रहने व्यवस्था रहेको छ ।