वडा नागरीक मञ्चमा दलको राजनीति
कपन अनलाइन, २१ भदौ, २०७३/दृष्टिकोण/बिजेन्द्र पुडासैनी
बुनपाभित्र वडा नागरीक मञ्च गठनका प्रकृया चलिरहेको छ । वडा नागरिक मंच गठनसम्बन्धि निमवाली बमोजिम राजनीतिक दलका सदस्यता लिएका कुनै पनि ब्यक्तिहरु मन्चमा रहन नपाउने भएतापनि राजनीतिक दलका कार्यकर्ताको बाहुल्यतामा नै यो मञ्च गठन हुने गरेको छ । बुनपाको वडा नं ६ को वडा नागरीक मञ्च गठनका सन्दर्भमा यस्तै राजनीतिक कुराहरू सामुन्ने आए । वडा नागरिक मञ्च वडा नं ६ मा राधा शाह संयोजकमा निर्बाचित हुनु भएको छ | उहाँलाई बधाई पनि छ । उहाँ राम्रै मानिस भनेर चिनिन्छ । यद्धपि नागरीक वडा मञ्च गठन हुँदा गठण बारे सुसुचित हुने नागरीक अधिकार भने यो गठण प्रकृयाले हनन गरेको अनुभुति भयो ।
अधिकांश स्थानीयवासीले आफुहरुलाई कुनै खबर नगरेको र वार्ड कार्यालयले समेत कुनै सूचना नदिएको गुनासो गरेका थिए | बिहान ७ :३० बजे सुरु हुने भनिएको कार्यक्रम उपस्थितिनै नभए पछि ढिलोगरी सुरु भएको थियो । केही मानिसहरु जम्मा भएपछि सुरु गरिएको कार्यक्रममा पनि वडा नागरिक मंचको पुरानो कार्यसमितीका ८ जना भन्दा बढी उपस्थित थिएनन् । यसरी अनुपस्थित हुनुनै पनि सामान्यतया कार्यक्रमको गणपुरक संख्या नपुग्नु मानिन्छ ।
वडा नागरिक मञ्च गठन गर्न आएका वडा कार्यालयका प्रतिनिधिहरुनै वडा नागरिक मंच गठन गर्न प्रतिनिधि चुन्न ब्यस्त हुनु परेको थियो । राधा शाहलाई सहयोग गर्न सह संयोजकमा निबर्तमान संयोजक विजय लामा आए | संयोजक रहीसकेका विजय लामा सह संयोजक पदमा आउँदा उनीभित्रको पदलोलुपता सबैले अनुभूत गरे । सहभागि केहीले हेडमास्टर भएर अवकाश लिए पछि नि मास्टरी गरेको भनेर व्यंग पनि गरे लामालाई । तर लामालाई यो व्यांगले छुनचाहिँ छोएन ।
गठन प्रकृयामा नेपाली कांग्रेस वडा नं ६ का संयोजकअनुपस्थिति थिए । नेकपा माओवादी केन्द्रका प्रतिनिधि समेत आफुलाई कुनै जानकारी नगराएको भन्दै रुष्ठ बनेका थिए | सम्बन्धित वडा कार्यालयका कर्मचारीलाई किन खबर भएन त भनेर प्रश्न गर्दा वडाले सूचना टास गरेको हो भन्दै गैरजिम्मेवार उत्तर दिए ।
सामान्य अध्ययनले देखाएको प्रसंग के हो भने साबिक बिष्णु बुढानिलकण्ठमा गाबिस मा कांग्रेस कम्जोर हुँदै गएको छ । यस्ता वडा नागरीक मञ्चहरूजस्ता ठाउँमा कार्यकर्ता भर्ती गर्न कांग्रेसलाई चासो नहुँदा वडा नागरिक मंचको गठनमा नेकपा एमालेमात्र उपस्थिति देखियो । वार्ड नागरिक मंचको बारे बुझेका मानिस समय दिन सक्ने मानिस वडा नागरिक मंचमा बस्नु उत्तम हुने भएता पनि नेकपा एमालेले वडा नागरिक मंचलाई कार्यकर्ता भर्तीस्थल झैँ बनाएको देखिन्छ | वडा नागरिक मंच विघटन हुने क्रममा निबर्तमान संयोजकको अभिव्यक्ति निकै संकुचित थियो | उहाँको भनाई बमोजिम पुरानो कार्य समितीको अनुपस्थित सदस्य हरुको मात्र पदपूर्ति हुने र बाँकी यथाबत रहने एवम् पूरानो कार्यसमितिमा महिला सह संयोजक भएकाले निर्बिरोध पुरानो सहसंयोजक हाल संयोजक हुने तर्क थियो उनको |
कसैलाई पनि खबर नगरी वडा नागरिक मंच गठन गर्नु, बाटोमा हिडीरहेको व्यक्तिलाई बोलाएर राख्नु यो सब एक कुसंस्कारगत राजनीतिको फोहरी खेल मात्र हो । यस्तो संकुचित राजनीति कहिले सम्म चल्ने हो ? सुचनाको हक अधिकार सम्पूर्ण नागरकिको मौलिक अधिकार हो भन्नि थाहा हुँदा हुँदै पनि किन वडा न ६ मा नागरिकहरुलाई सही सूचना सम्प्रेषण गरिएन यो दोष कसको जनतालाई उतर दिने दाईत्वो कसको यसको उत्तर जनतालाई नगरपालिकाले दिनेछ भन्नि आश गर्दै नवगठित वडा नागरिक मंचलाई सफल कार्यकाल को शुभकामना !!