गगन थापालाई कमजोर बनाउन देउवाको नाम बेच्दै प्रकाशमानलाई पोस्दै !

गगन थापालाई कमजोर बनाउन देउवाको नाम बेच्दै प्रकाशमानलाई पोस्दै !

kljk;ljk;ljk;ljk
कपन अनलाइन, २१ भदौ, २०७३/दृष्टिकोण/ देविका भेटुवाल

काठमाडौं जिल्लामा नेपाली कांग्रेसभित्र पछिल्ला १ दशकमा प्रकाशमान सिंह र गगन थापाबीच कस्को बर्चश्व रहने विषयमा होड चल्ने गरेको छ । स्वर्गीय गणेशमानको विरासतप्राप्त पूर्व महामन्त्री प्रकाशमान सिंह सदैव काठमाडौं जिल्ला आफ्नो पकडमा रहोस् भन्न चाहन्छन् र उनको राजनीतिक खेल कांग्रेसतिरभन्दा पनि आफ्नो गुटतिर हुने आरोप सदैव लाग्ने गरेको छ  । काठमाडौँबाट राजनीति गर्ने युवा नेता गगन थापा पनि काठमाडौलाई आफ्नो बनाउन चाहन्छन्

नेपाली कांग्रेसको १२ औँ अधिवेशनपछि प्रकाशमानको  काठमाडौंमा युवा नेता गगन थापाले धावा बोलेका हुन्। १२ औँ अधिवेशनपछि सिंह पार्टीमा महामन्त्री बने पनि काठमाडौं जिल्ला तथा अधिकांश क्षेत्रमा कमजोर बन्न पुगेका थिए । गगन थापाले पूराना नेता भिमसेनदास प्रधानलाई काठमाडौ जिल्ला सभापतिमा जिताएपछि प्रकाशमानको काठमाडौंको राजनीतिक गणित बिग्रिएको थियो । १३ औँ अधिवेशनमा गगन थापाको गणित फेल भएको मानिन्छ ।

१३ औँ महाधिवेशनमा प्रकाशमान सिंह व्यक्तिगतरुपमा पार्टीभित्र कमजोर भए पनि काठमाडौं जिल्लामा भने हावी भएका देखिन्छन् । काठमाडौं जिल्ला सभापतिसहित अधिकांश क्षेत्रमा कांग्रेसभित्र  गुटगत राजनीतिका बादशाह प्रकाशमान सिंहका मानिस बिजयी भएका छन् । नेता प्रकाशमान सिंह स्वरुपमा संस्थापन पक्षको देखिए पनि सारमा काठमाडौंको एक गुटमात्र बनेर बसेका छन्, भक्तपुरमा बिजुक्क्षेजस्तै । काठमाडौंमा कुनै पक्षको हावी सिँहलाई स्वीकार छैन । १२ औँ अधिवेशनमा संस्थापन पक्षकै गगन थापासँग प्रकाशमानले काठमाडौंको राजनीतिमा सिँगौरी खेलका थिए । सो खेलमा गगन थापा विजयी भए । १३ औँ मा प्रकाशमान विजयी भए ।

माथि उल्लेखित विषयका पछाडि काठमाडौं कांग्रेसमा शेरबहादुर देउवाको रोल सबैभन्दा ठूलो र गोप्य पक्ष भएर आउँछ । १२ औँ अधिवेशनमा देउवा पक्ष काठमाडौंको राजनीतिमा सक्रियता केही क्षेत्रमा मात्र सिमित रह्यो । प्रकाशमान र गगनको नाममा विभक्त काठमाडौंमा देउवा पक्ष नगण्य नै देखियो र देउवाको मानिसले स्वविवेकमा आफूलाई अगाडि सार्यो । जीतका लागि देखिएका दुई प्रभावशाली व्यक्तिहरु भीमसेनदास प्रधान र राजन केसीमा प्रधान विजय भए । देउवा पक्षको रोल महत्वपूर्ण देखिएन ।

१३ औँ महाधिवेशनको मुखमा पार्टी सभापति सुशील कोइरालाको असामयिक निधन भएपछि देउवा पक्ष नेपाली कांग्रेसभित्र संस्थापन बन्ने छाँटमा पुग्यो । सो छाँटसँगै काठमाडौंमा पनि देउवा पक्षले आफ्नो अस्तित्व देखाउन तयार गर्यो । काठमाडौँका नेता प्रकाशमान सिंह देउवा पक्षमा गएनन् उनी रामचन्द्र पक्षमा नै रहे ।

युवा नेता गगन थापाले पार्टीभित्र आफ्नै समूह बनाए सिटौला नेतृत्वको । थापाले १२ औँ महाधिवेशनमा विश्वास गरेका पात्रलाई नै १३ औँ अधिवेशनमा पनि विश्वास गरे । एकाएक शक्तिशाली देखिएका देउवाका व्यक्तिहरु क्षेत्रमा उम्मेदवार बने । ती व्यक्ति क्षेत्रमा जित्नका लागि स्वरुपमा देउवाका भए पनि सारमा प्रकाशमान सिंहका थिए । उनीहरु क्षेत्रमा देउवाको व्यक्ति भएर जिते भने जिल्ला अधिवेशनमा प्रकाशमान सिंहको भएर प्रस्तुत भए । पार्टीभित्र डबल रोल खेल्नु अनौठो नभए पनि कालन्तरमा यो डबल रोल पार्टी सभापतिसम्म रहेका देउवाको लागि खतरनाक नै हुनेछ ।

१३ औ महाधिवेशनमा पछि काठमाडौं कांग्रेसभित्र भएका कतिपय कामहरु गुटवादमा मात्र अन्तर्निहित छ । काठमाडौंका अधिकांश क्षेत्रका सभापतिहरुलाई काठमाडौमा गगन थापा हावी हुन नदिने खालको शिक्षमा दिक्षित गरिएको पाइन्छ । काठमाडौं जिल्ला सभापति सबुज बानिया यसलाई नेतृत्व गरिरहेका छन् भने क्षेत्र नं.२, ४, ५, १० लगायतका सभापतिहरु सहायक भूमिका खेलिरहेका छन् ।

यतिखेर काठमाडौ तरुणदलमय भएको छ । यो प्रकृयामा पनि देउवाका भनिएका क्षेत्रीय सभापतिहरु देउवाको पृष्ठभूमिमा प्रकाशमान सिंहलाई सहयोग गर्न जुटे । तरुण दलका कतिपय क्षेत्र तथा जिल्ला अध्यक्षमा प्रकाशमान सिंहका व्यक्तिलाई विजय गराउँदा देउवा भने सनैसनै कमजोर बन्दै गएका छन् । तथापि आँखाको तारो भने हाल स्वास्थ्य मन्त्री बनेका गगन थापा बनेका छन् । यो कामले काठमाडौंको राजनीतिमा गगन थापाको अस्तित्व कमजोर होला नहोला, तर देउवाको राजनीति भने कमजोर बन्नेछ । देउवाको खोल ओडेर प्रकाशमान सिंहलाई सहयोग गर्नेहरुले गरेको राजनीतिलाई पार्टी सभापति शेरबहादुर देउवाले बेलैमा सोच्न आवश्यक रहेको भन्नेहरुको आवाज पनि बढ्दै गएको छ ।

(कपन अनलाइनले चलेका पत्रकार, लेखक र राजनीतिक कार्यकर्तासँग नियमित लेखका लागि सम्झौता गरेर काम गर्न शुरु गरेको छ । प्रस्तुत दृष्टिकोणकी लेखिका  देविका भेटुवाल, एक महिला पत्रकार हुन् ।  भारतमा मास कम्युनिकेसन पढेकी भेटुवाल २ वर्षदेखि बुढानिलकण्ठ नगरपालिकामा बसोबास गर्छिन् । फोटोग्राफीमा अन्तराष्ट्रिय न्यूज एजेन्सीमा काम गर्दै बचेका समय साहित्यमा कलम चलाउँछिन् । देविका भेटुवालले कपन अनलाइनलाई साप्ताहिकरूपमा लेख उपलब्ध गराउने सम्झौता भएको छ ।)

तपाइँको प्रतिक्रिया ।