सिन्धुपाल्चोकमा वन विनाश बढ्दो
कपन अनलाइन /मेलम्ची, २० भदौ ।
-आदित्य दाहाल
नेपालको पहिलो साक्षर जिल्ला घोषणा भएको सिन्धुपाल्चोक जिल्लाको अधिकांश वन पछिल्लो समयमा विनाश हुने क्रम बढेको छ ।
पहिलो साक्षर जिल्ला घोषणा भए पनि जिल्लाको सामुदायिक, निजी लगायतका अधिकांश वन फँडानी भने रोकिएको छैन । बिनाजानकारी रूख काट्ने तथा व्यापारिक हिसाबका लागि वनजङ्गल फँडानी गर्ने क्रम बढे पनि सम्बन्धित निकायले ध्यान नदिँदा यस्तो अवस्था आएको स्थानीयवासीले आरोप लगाएका छन् ।
सामुदायिक वनको अवधारणासँगै विकास भएको जिल्लाको बाँसखर्क जङ्गल अहिले नाङ्गो भएको छ । विगत केही वर्षअगाडि सामुुदायिक समितिका अध्यक्षले वन कटान गराएपछि सो वन नाङ्गो भएको हो । २००७ सालदेखिनै समुदायबाट वृक्षरोपण र हेरचाहा गरी विकास गरिएको बाँसखर्क सामुदायिक वन विज्ञान शिक्षाको एउटा प्रसिद्ध शिक्षालयका रुपमा रहेको थियो । वनका विकास र संरक्षण अभियानका अगुवा लक्ष्मण दोङको मृत्यु भएपछि र गाउँमा दलीय विवाद बढेपछि वन विनाश हुन थालेको स्थानीय समाजसेवी पासाङ दोङले बताउनुभयो ।
यसरी वन विनाश हुने क्रम बढ्दै जाँदा र वन संरक्षणका अभावमा अब इतिहासमा सीमित हुने भएको दोङको अनुमान छ । बाँसखर्क वनसँगै जोडिएको शिखरपुर ज्यामिरे नर्सरी क्षेत्रको वनको विकासका आधारमा २०३४ सालदेखि समुदायले वन क्षेत्र विकास र संरक्षण गर्न सक्छन् भन्ने अवधारणा सुरु भएको थियो भने वन विज्ञान अध्ययन संस्थाका स्नातकका विद्यार्थीले २०५६ सालसम्म अनिवार्य रुपमा यहाँ १५ दिन अध्ययन अनुसन्धान गर्नैपर्ने त्रिविको नियम थियो । सो समयमा द्वन्द्वका कारण यो परम्परा हट्यो र समुदायका अघिल्लो पुस्ताका अगुवा सकिँदै गएपछि वन पनि मासिँदै गएका छन् ।
पछिल्लो समय भूकम्पले घर भत्किएपछि काठ तस्कर तथा घर निर्माण गर्ने भनेर काठ ल्याएर बेच्ने गरेको भेटिएको छ । बाँडेगाउँको सामुदायिक वनमा पनि भूकम्पपछि काठ तस्कर बढेको बाडेगाउँका स्थानीय युवा पासङ तामाङले बताउनुभयो । इलाका वन कार्यालय नवलपुरसँग व्यक्तिगत घर निर्माणका लागि चिरानीको कागज बनाउने र फर्निचरमा लगेर काठ बिक्री गर्ने गरेको भए पनि इलाका वन कार्यालयले चिरानीपश्चात् काठको घर निर्माणमा प्रयोग भए नभएको अनुगमन नगर्दासमेत वन फँडानी बढेको तामाङले बताउनुभयो । पटक पटक इलाका वन कार्यालयलाई जानकारी गराउँदासमेत त्यससम्बन्धी चासो नदिएकाले इलाका वन कार्यालयसँगको केही मिलोमतो भएको हुनसक्ने स्थानीयवासीले आरोप लगाएका छन् ।
त्यस्तै विभिन्न काम देखाएर तथा वन समितिको आँखा छलेर अनधिकृत रुपमा मेलम्ची नगरपालिका–१२ शिखरपुरमा रहेको डन्डिबियो वन मासिने क्रम तीव्र छ । सम्बन्धित निकायले कडाइ नगरेको र चासो नदिएकाले समेत यस्तो अवस्था आएको स्थानीयवासी भीमप्रसाद दुलाल बताउनुहुन्छ ।
सिन्धुपाल्चोक जिल्लाको क्षेत्रको नमुना सामुदायिक वन विकासमा महत्वपूर्ण योगदान अस्ट्रेलियन वन परियोजनाले दिएको थियो । तीसको दशकका प्रत्येक विद्यार्थीले सिन्धुपाल्चोकका खाली जमिनमा वृक्षरोपणमा पसिना बगाएका थिए । प्रायः हरेक विद्यालयले नर्सरी सञ्चालन गरेका थिए सामुदायिक वन विकासमा तत्कालीन पुस्ताले दिएको योगदान सम्झँदै अहिले वन नासिँदै गएकामा विद्यालय स्रोतव्यक्ति भक्तबहादुर खड्का चिन्ता प्रकट गर्नुहुन्छ ।बाँसखर्कको वन समितिको अध्यक्षले ८० लाख रुपैयाँमा साल, साझ, उत्तिस र सल्लोका रूख सबै काटेर बेच्दासमेत अहिलेसम्म वन कार्यालयले कुनै चासो नदिएको पासाङ दोङ बताउनुहुन्छ । सामुदायिक वन क्षेत्र विकास भएको मेलम्ची र इन्द्रावती क्षेत्रको वन संरक्षणको दायित्व भएको वन रेक्टर कार्यालय मेलम्चीको कार्यालय २०६० सालमा माओवादीले जलाएपछि सो कार्यालय हालसम्म पनि पुनः स्थापना भएको छैन ।
नेपाली काँग्रेसका नेता तारानाथ दाहालले सामुदायिक वन समिति राजनीतिक अखडा भएको भन्दै वन जोगाउने भन्दापनि वनमाराले वन कब्जा गरेको आरोप लगाउनुभएको छ । बाँसखर्क र शिखरपुर वनबारे अनेकौँ पुस्तक, फिल्म र प्रचार सामग्री बनेका तथा संसारका धेरै विश्वविध्यालयमा त्यहाँ भएको विकासबारे पढाइ हुने गरे पनि हाल आएर ती वन उजाड हुनुले देशकै बेइज्जत हुन पुगेको दाहालले उल्लेख गर्नुभयो ।
मेलम्ची क्षेत्र र सिङ्गो सिन्धुपाल्चोक वन संरक्षण र विकासका लागि गर्व गरिने ठाउँ भए पनि पछिल्लो समयमा विनाश हुने क्रम बढेसँगै सामुदायिक वनको अवधारणा नै गलत हो कि भन्ने अवस्था सिर्जना भएको छ । रासस