दलित भन्दा पनि विपन्नवर्गको उत्थानमा जोड दिनुपर्ने- माझी
कपन अनलाइन, २६ जेठ, २०७३
भारतको विहार राज्यका पूर्वमुख्यमन्त्री जितनराम माझीले दलितभन्दा पनि विपन्न वर्गको उत्थानमा राज्यले जोड दिनुपर्ने बताएका छन् । मङ्गलबार जनकपुरमा मुसहर हक अधिकार महासम्मेलन तथा राष्ट्रिय मुसहर उत्थान समाज, नेपालको प्रथम महाधिवेशन उद्घाटन गर्दै माझीले मुसहर वा अन्य दलित अथवा कथित उच्च जातिकै मानिस भएपनि गरिबीको चपेटामा परेको छ भने समुदायका लागि मात्र नभएर देशकै चिन्ताको विषय बन्नु पर्ने बताएका हुन् ।
उहाँले अत्यधिक मदिरा पिउने समुदायका रुपमा चिनिएका मुसहरलाई मद्यपान त्याग्न, स्वच्छ र शिक्षित बन्न तथा धामीझाँक्रीको परम्परा त्यागेर स्वस्थ रहने उपाय सिक्नुपर्ने पनि माझीले बताए । उनले भने “बिहान ओछ्यानबाटै रक्सी खाने र खानकै लागि मात्र काम गर्ने मुसहर जातिको परम्परालाई त्यागेर बालबच्चाको पढाइमा खर्च गर्ने र बच्चालाई कसरी शिक्षित नागरिक बनाउन सकिन्छ भनेर सोच्ने मनोवृत्तिको विकास गर्न जरुरी छ ।”
माझीले आफूले गरिबीको पीडा राम्ररी बुझेको बताउँदै परम्परावादी सोचलाई परित्याग गरेर बालबालिकालाई शिक्षित बनाउँदै लग्नुपर्नेमा जोड दिएका थिए । कुनै बेला रक्सी बनाएर बेच्ने परिवारमा जन्मेको आफूले ७० वर्षको उमेर सम्म पनि कहिल्यै नसालु पदार्थको स्वाद नचाखेको बताउँदै उहाँले आफू दश वर्षको हुँदा बाबुलाई त्यो काम छोड्न लगाएर सभ्य परिवार बनाउने नेतृत्व लिएको स्मरण गर्दै आज आफू राजनीति गरेर मात्र मुख्यमन्त्री बनेको होइन बरु शिक्षित भएर हो, फेरि आफ्नो भाइ प्रहरीको इन्स्पेक्टर हुन सफल भए, त्यो पनि शिक्षित भएर मात्र । शिक्षित भएर नै म राजनीतिमा अहिलेको स्थानसम्म पुग्न सफल भएँ, उनले भने, “ तपाँईहरु आफैँ शिक्षित र योग्य हुनुभएन भने अधिकार पाएर पनि केही गर्न सक्नुहुन्न ।” त्यस्तै, मुसहर जातिलाई अघि बढ्ने प्रेरणाको स्रोतका रुपमा रहेका दिनाराम, दिनाभद्रीको नाउँमा ट्रस्ट निर्माण गर्न पनि उनले नेपाल सरकारसँग मागसमेत गरे ।
माझीले जनकपुरमा मुसहर समुदायको पथप्रदर्शक सवरीको मन्दिर निर्माण र हरेक दलित बस्तीमा शौचालय निर्माणका लागि आवश्यक पहल गर्न भारत सरकारसँग माग गर्ने बताउँदै अहिले भारतका प्रधानमन्त्री विपन्न समुदायको उत्थानका लागि अभियान नै चलाइरहनुभएको बताउँदै यो प्रस्ताव भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्वीकार गर्दै नेपालमा पनि सहयोग गर्नेछन् भन्ने आफूलाई विश्वास भएको बताए ।
सम्मेलनमा माझीलाई आयोजकले दिनाभद्रीको उपाधि प्रदान गरी अभिनन्दन गरेका थिए । मुसहर समुदायका अगुवा ‘कालु सरदार’ को उपाधि सिया सादालाई र ‘सवरी माता’ को उपाधि घुर्नीदेवी सादालाई प्रदान गरियो । त्यस्तै, उक्त कार्यक्रममा पत्रकारिताको माध्यमले छुवाछूत र भेदभावविरुद्ध आवाज उठाएको भन्दै सञ्चारकर्मी सुरेश यादव, हदिश खुद्दार र कैलाश दासलाई सम्मान गरिएको थियो ।