एमालेमा पारदर्शी पद्धति कायम हुन सकेन–नेता नेपाल

madhav-kumar-nepal

कपन अनलाइन, काठमाडौँ, १२ जेठ, २०७३

नेकपा (एमाले)का नेता माधवकुमार नेपालले पार्टीमा पारदर्शी पद्धति कायम हुन नसकेको बताउनुभएको छ । मदन भण्डारी अध्ययन केन्द्रले २३ औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा आज यहाँ आयोजित ‘संविधानको कार्यान्वयनः राष्ट्र र पार्टी निर्माण’ विषयक अन्तक्र्रियामा उहाँले लामो समयदेखि लोकतन्त्रका लागि सङ्घर्ष गरेको आफ्नो पार्टीमा निर्धारित समयमा बस्नुपर्ने पोलिटव्यूरो तथा केन्द्रीय समितिको बैठक बस्न नसकेको र अहिले आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले संविधान कार्यान्वयनका लोकतन्त्र स्थापनाका लागि क्रियाशील सबै दल एकजुट हुनुपर्नेमा जोड दिँदै नेपाली समाज रुपान्तरणका लागि पार्टी संवेदनशील रहेको औँल्याउनुभयो । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टीभित्र बढ्दै गएको गुट तथा उपगुटको अन्त्य गरी पार्टीले जनविश्वास जित्ने कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो ।

पूर्वमन्त्री लालबाबु पण्डितले मुलुकमा अहिले राष्ट्रियता कमजोर हुँदै गएकाले पार्टीभित्र एकता कायम गरी राष्ट्रिय सङ्कटबाट देशलाई निकास दिनुपर्ने बताउनुभयो । अन्तरक्रियामा डा विजयकुमार पौडेलले ‘परिवर्तित सन्दर्भमा पार्टी निर्माण’, डा गोविन्दबहादुर थापाले ‘आर्थिक रुपान्तरण र समृद्धि’ र घनश्याम भुसालले ‘कम्युनिष्ट आन्दोलनः अबको बाटो’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । रासस

तपाइँको प्रतिक्रिया ।