कवि रिजाल सम्मानित
काठमाडौँ, १३ चैत । कवि तथा गीतकार कालीप्रसाद रिजाल ‘वासु शशी स्मृति अभिनन्दन–२०७२’ द्वारा सम्मानित हुनुभएको छ ।
वासु शशि स्मृति परिषद्ले आज यहाँ वरिष्ठ कवि एवम् नाटककार वासु शशीको ८०औँ जन्मजयन्ती एवम् पुरस्कार वितरण समारोहको आयोजना गरी रिजाललाई अभिनन्दन गरेको हो ।
समारोहमा कवि उषा शेरचनलाई रु १५ हजारसहित ‘वासु शशी स्मृति पुरस्कार–२०७२’ ले पुरस्कृत गरियो ।
विसं १९९६ चैत १० गते धरानमा जन्मनुभएका कवि रिजालले २०१९ सालमा ‘ज्वारभाटा’ कविता सङ्ग्रह प्रकाशित गरेर उहाँले साहित्यिक क्षेत्रमा पाइला चाल्नुभएको थियो । उहाँको कविता सङ्ग्रह र गीत सङ्ग्रह गरी हालसम्म १६ कृति तथा सङ्ग्रह प्रकाशित भइसकेका छन् ।
विसं २०११ वैशाख २८ गते पोखरामा जन्मनुभएका पुरस्कृत कवि शेरचनले २०४८ सालमा पहिलोपटक ‘नजन्मेका आस्थाहरु’ कविता सङ्ग्रह प्रकाशित गर्नुभएको थियो । हालसम्म उहाँका चार कविता सङ्ग्रह र पाँच गीति एल्बम प्रकाशनमा आइसकेका छन् ।
कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उहाँहरुलाई सम्मान गर्दै आधुनिक नेपाली साहित्यका प्रखर युवा साहित्यकार वासु शशीका नाममा स्थापित उक्त पुरस्कार तथा सम्मान हुने व्यक्तित्वलाई साहित्य क्षेत्रमा अझ सशक्त साहित्य सिर्जन गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
सम्मानित व्यक्तित्व रिजालले वासु शशीलाई अर्काको साहित्यिक कृतिको प्रशंसा गर्ने व्यक्तित्वका रुपमा आफूले लिएको बताउँदै शशीकै कारण आफू साहित्यिक क्षेत्रमा लाग्न प्रेरणा मिलेको स्मरण गर्नुभयो ।
यसैगरी पुरस्कृत कवि शेरचनले वासु शशीसँग त्यति सामिप्यता बढाउने अवसर नपाए पनि उहाँकै नाममा स्थापित पुरस्कार प्राप्त गर्नुलाई निकै सौभाग्यका रुपमा लिएको र यसलाई आफूलाई हौसला प्रदान गरेको बताउनुभयो ।
परिषद्का अध्यक्ष कृष्ण जोशीले २०५० सालमा स्थापित परिषद्ले भाषा साहित्यका विभिन्न विधामा दिशाबोध प्रदान गरी नयाँ आयाम थप गर्न सफल, दीर्घसेवी, सिर्जनशील तथा साधरनारत साहित्यकारलाई पुरस्कृत गरी साहित्य क्षेत्रमा अगाडि बढाउन हौसला प्रदान गर्ने विश्वास लिएको बताउनुभयो । रासस