भाव–भगीरथी : सलिन विष्ट (कविता )
कपन अनलाइन
काठमाडौं, असोज १२।
कुन क्षितिजको रङ
टिपूँ म यो रित्तो पानामा ?
कुन शून्यताको सुस्केरालाई
सङ्गीत बनाऊँ म यो निस्तब्धतामा ?
खै…..,
के कविता लेखूँ म ?
कुन विषयको गहिराइमा डुबेर
भावको मोती टिपूँ म ?
चारैतिर असीम विचारका
छालहरू छन्,
मस्तिष्कको मझेरीमा शब्दहरू
उन्मत्त नृत्य गरिरहेछन् ।
तर,
जब म कलम समात्छु !
चेतनाको नीलो गगनमा एउटा
असमञ्जसको कुहिरो मडारिन्छ,
अनि भावनाका नदीहरू
एकाएक निशब्दताको
सागरमा मिसिन पुग्छन् ।
कि म यो समयको निधारमा
अङ्कित वलीहरूको
कथा लेखूँ ?
या झर्दै गरेको पातको अन्तिम,
मौन प्रार्थना लेखूँ ?
कि मानवताको अनुहारमा
लागेको भ्रमको तुवाँलो कोरूँ ?
या आफ्नै मनभित्र गुम्सिएको
एउटा अदृश्य आलाप पोखूँ ?
हेरूँ त यता;
झरनाहरू पहाडको छाती
चिरेर कञ्चन सङ्गीत बगाइरहेछन्,
पातहरू बतासको सुइँको
पाउनासाथ साउती मारिरहेछन् ।
प्रकृतिको यो विराट्
काव्यशालामा म एउटा
सानो अल्पविराम जस्तो,
आफ्नै अस्तित्वको परिभाषा
खोज्दै भौंतारिरहेछु ।
हेरूँ त उता;
सहरका गल्लीहरूमा
मानिसहरू आफैँलाई हराएर
आफैँलाई खोजिरहेछन्,
गुलाफका काँडाहरू पनि
सुवासको अट्टहासभित्र
आफैँलाई लुकाइरहेछन् ।
यो संसार आफैँमा
एउटा महाकाव्य त हो नि !
जहाँ हरेक आँसु एउटा विम्ब हो,
र हरेक मुस्कान एउटा प्रतिविम्ब ।
मेरो कलम !
तिमी अब यो
अन्योलको कारागारबाट मुक्त होऊ ।
तिमी कुनै सीमाबद्ध
विषयको परिधिभित्र नबाँधियोऊ ।
तिमी त केवल बगाऊ
एउटा अनवरत
चेतनाको भगीरथी,
जहाँ शब्दहरू आफैँ
अलङ्कार बनून्,
जहाँ ध्वनिहरू आफैँमा
सुमधुर राग बनून् ।
विषयहीनताको यो सुन्दर
संभ्रम नै मेरो आजको महाकाव्य हो,
केही नलेखिनुको यो मौनता
नै मेरो भित्री
आत्माको आलाप हो ।
जहाँ अक्षरहरू पराजित हुन्छन्,
त्यहाँ भावको अनन्त
आधिपत्य सुरु हुन्छ,
र, त्यही प्रभुत्वको एउटा
सानो सङ्गीत हो;
यो मेरो कविता ।
सहकार्य ; कपन बानेश्वर साहित्यिक साप्ताहिक
