ध्वस्त चीत्कार बाढी : वासुदेव पौड्याल (भद्र)

ध्वस्त चीत्कार बाढी :  वासुदेव पौड्याल (भद्र)

कपन अनलाइन

काठमाण्डौ,असार २०।

थर थर रसुवामा कम्प आंँधी हिमाली
हिम जल बम जस्तै ध्वस्त चीत्कार बाढी ।
घरजम टिमुरेको हैम पैह्रो बिरानो
क्षण भर त्रिशुलीमा भेल लेदो अचानो ।।

क्षत विक्षत अबस्था लास मृत्यु चिहान
समय प्रकृति दैवी कष्टदायी बिहान ।
तलतिर नद खोला त्रस्त साक्षी किनारा
सडक र पुल बत्ती छेद संचार सारा ।।

मन मुटु तन कांँप्ने दर्द पीडा अवस्था
विकल जन गुजारा खोज निर्बाह रस्ता ।
तन मन धन सेवा दान उद्धार निम्ति
मिलजुल सब देशी मातृ प्रेमी विदेशी ।।

अचुक मलम पट्टी स्वस्थ संस्कार कार्य
परिचित सहयोगी सूचना पर्ख धैर्य ।
सकल जन हतारो अश्रु नेपाल आमा
दिन कहर अँध्यारो खेद चीत्कार नाना ।।

जनमत दल एकैनास साझा उदेश्य
कहर सकस टार्ने एक होस् चित्तवृत्त ।
सडक र पुल बत्ती जोड संचार सेवा
सकल सम बिचारी खोज विस्तार टेवा ।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।