घुम्छन् सबै : त्रिलोचन आचार्य (कविता)
कपन अनलाइन
काठमाडौं, साउन २३।
घुम्दैछ धर्ती, नभ यो छ घुम्दै
संसार हाम्रो, सब यो छ घुम्दै
घुम्छन् उज्याला, ग्रह जग्मगाई
घुम्छन् सबै जीवनमा रमाई ।१।
घुम्दैछ सारा जल वाष्प बन्दै
घुम्दैछ बेला दिन रात भन्दै
घुम्दैछ मान्छे, सुख दुःख छाई
घुम्छन् सबै जीवनमा रमाई ।२।
जैल्यै छ हेरौँ सरकार उस्तै
सत्ता सुतेको दरबार उस्तै
उस्तै घुमेको छ उमेर हाई
घुम्छन् सबै जीवनमा रमाई ।३।
यी दृष्टि घुम्दै, पर चुम्न खोज्छन्
यी हात गोडा, पनि घुम्न खोज्छन्
घुम्छे चरी चञ्चल सल्बलाई
घुम्छन् सबै जीवनमा रमाई ।४।
हाल्दैछ यो चित्त फनक्क फन्को
घुम्दैछ यो दुख्ख दिएर रन्को
बाटो घुमी आउँछ दूर धाई
घुम्छन् सबै जीवनमा रमाई ।५।
घुम्दैछ यो श्वास बनेर प्राण
घुम्दैछ यो आश बनी मुहान
घुम्छन् यतै वृष्टि यतै सलाई
घुम्छन् सबै जीवनमा रमाई ।६।
घुम्दै डुली जान्छ उमेर ढल्की
घुम्छे बिहानी पनि फेरि लम्की
घुम्छन् यता अक्षर चम्चमाई
घुम्छन् सबै जीवनमा रमाई ।७।
घुम्नेहरुकै छ नयाँ जवानी
घुम्नेहरु मस्त सफा सिरानी
घुम्नै खुसी घाम र जूनलाई
घुम्छन् सबै जीवनमा रमाई ।८।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
