चार मुक्तक : रवि श्रेष्ठ
कपन अनलाइन
काठमाडौं ,साउन ९।
पीडैपीडाको आँसुले आँखा रुझेको धेरै दिन भयो
तनावैतनावले गन्तव्यको यात्रा सधै उदासीन भयो
हो…. ग्रहदशाले निम्त्याएको उजाड यो जिन्दगीमा,
समयले साथ दियो कि धोका, भन्नलाई कठिन भयो ।
जिन्दगीको यात्रा मसानघाट सम्मको मात्र हो भन्छन्
नानाभाँतीका स्वाङ देखाएर विवेकशील पनि बन्छन्
तर विडम्बना .. नकारात्मक सोचमै एकाग्र भै आफैले,
अरूहरू फसाउने ढाँचाको खाल्डो, किन पो खन्छन् ?
मन पगाल्न र आकर्षित गर्न गाह्रो हुनेरहेछ तनमनले
हो, सबैलाई चित्त बुझाउन पनि नसकिदो रहेछ धनले
पालेकै कुकुरले फर्केर टोक्छ भन्थे बुढापाका, हो रहेछ,
आज मुटु दुख्नेगरी किला ठोक्यो कोही कसैको वचनले ।
पीडा भुलाउछ र मस्त गराउँछ भन्छन् रक्सीको जातले
तर विभिन्न रोगहरू पैदा हुन्छन् शरीरमा, यसैको घातले
क्षणिक आनन्द लिने गर्दा अभाव र अधुरो यो जिन्दगीमा,
कोही लडेकाछन् त कसैको मृत्यु हुनेगर्छ सेवनकै मातले ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
