बोका पनि साहित्यकार हुन्छन् र ? लोचन‘फूलको थुँगा’
कपन अनलाइन
काठमाडौं ,साउन २।
हातमा
महङ्गो कलम छ
मञ्चमा बस्दा
अनुहारमा
एउटा गम्भीर विमर्श छ
र गोजीमा छ
’नारी अस्मिता’ माथि
लेखिएको एउटा गहन निबन्ध
वाह !
क्या प्रबुद्ध साहित्यकार !
तर मञ्चबाट ओर्लनासाथ
जब उसका आँखा
कुनै नारीमाथि पर्छन्
साहित्यका सारा रसहरू
सुकेर जान्छन्
र अचानक ब्युँझिन्छ
उही पुरानो
¥याल चुहाउँदै
गरेको बोको आवाज !
उसका
कविताका बिम्बहरू
कति पवित्र
कति न्यायपूर्ण !
तर विचारको
त्यो कञ्चन नदीमा
आफ्नै कुण्ठाको
फोहोर बगाइरहन्छौ
जसको नियत नै
जताततै
’चारो’ खोज्दै हिँड्ने
बोकाको जस्तो छ
उसले कागजमा
’क्रान्ति’
र ’चेतना’ को
खेती कसरी गर्न सक्छ ?
शब्दमा सिलस्वभावको
लेपन लगाउँदैमा
ब्वाँसो कहिल्यै
गाई बन्न सक्दैन
र जतिसुकै
ठुला उपनाम
भिरे पनि
प्रवृत्तिले
बोको भएको मान्छे
कहिल्यै
’साहित्यकार’ हुन सक्दैन
कि त
सिङ् जुरा आएर
आफ्नै बथानमा
फर्क महोदय !
कि त
यी पवित्र अक्षरहरूको
अपमान गर्न छोडिदेऊ
किनभने
साहित्य त
मनको ऐना हो
तिम्रो शरीरको
भोक मेटाउने
कुनै ’हतियार’ होइन
यौन भर्ने घैँटो पनि होइन
तिम्रो
यो ढोंग देखेपछि
आज शब्दहरू
आफैँ लाजले
भुतुक्क भएका छन्
र सोधिरहेछन्
यो समाजलाई—
भन न त
बोका पनि
कहिल्यै
साहित्यकार हुन्छन् र ?
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
