नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण

नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण

कपन अनलाइन

काठमाडौं असार ३२।

चिकित्सा तथा नर्सिङ शिक्षालाई अझ प्रभावकारी, व्यवहारिक र बिरामी–केन्द्रित बनाउन नेपाल मेडिकल कलेजले अनुकरण (Simulation) शिक्षण विधिलाई प्राथमिकता दिन थालेको छ । यही उद्देश्यका साथ नेपाल मेडिकल कलेजमा अध्ययनरत बीएससी नर्सिङ दोस्रो वर्ष (१३औँ ब्याच) का विद्यार्थीहरूका लागि ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ कार्यक्रम सञ्चालन गरिएको छ ।

लेक्चरर पूजा प्रकाशको निरीक्षण तथा सहजीकरणमा सञ्चालन भएको कार्यक्रममा प्रि–हस्पिटल तथा आकस्मिक (Emergency) विभागमा बिरामीको अवस्था अनुसार गरिने ट्रायेज (Triage) प्रक्रिया, विभिन्न तहका नर्स, चिकित्सक तथा स्वास्थ्यकर्मीको भूमिका र आपसी समन्वयका विषयमा व्यवहारिक अभ्यास गराइएको थियो ।

कार्यक्रममा विद्यार्थीहरूले अस्पतालको वास्तविक वातावरणलाई अनुकरण गर्दै आकस्मिक अवस्थामा बिरामीको प्राथमिकता निर्धारण, उपचार व्यवस्थापन तथा टोलीगत समन्वय कसरी गर्ने भन्ने विषयमा अभ्यास गरेका थिए । यसले कक्षाकोठामा प्राप्त सैद्धान्तिक ज्ञानलाई व्यवहारमा रूपान्तरण गर्न महत्वपूर्ण सहयोग पुगेको प्रशिक्षक पुजा प्रकाशकाे भनाइ छ ।

लेक्चरर पुजा प्रकाशका अनुसार परम्परागत व्याख्यान (Lecture) विधिबाट मात्र अध्ययन गर्दा विद्यार्थीले विषयवस्तु सम्झन र व्यवहारमा उतार्न कठिनाइ हुन सक्छ । तर सिमुलेसनमार्फत सिकाइ गर्दा अस्पतालमा ड्युटीका क्रममा आत्मविश्वासका साथ काम गर्न सक्ने, परीक्षामा विषयवस्तु स्पष्ट रूपमा प्रस्तुत गर्न सक्ने तथा लामो समयसम्म ज्ञान स्मरण रहने लाभ प्राप्त हुन्छ ।

स्वास्थ्य सेवामा दिनप्रतिदिन देखिएको जनसांख्यिकीय परिवर्तन, औसत आयु वृद्धि, नयाँ प्रविधिको प्रयोग, प्रमाणमा आधारित उपचार प्रणाली तथा अनुसन्धानमुखी अभ्यासले चिकित्सा शिक्षालाई अझ चुनौतीपूर्ण बनाएको छ । यस्ता चुनौती सामना गर्न सक्षम, दक्ष र व्यावसायिक स्वास्थ्य जनशक्ति उत्पादन गर्न शिक्षण प्रणालीलाई पनि समयानुकूल बनाउनु आवश्यक छ । यसका लागि व्याख्यानसँगै स्किल डेमोन्स्ट्रेसन, रोल प्ले, परियोजनामा आधारित अध्ययन, प्रमाणमा आधारित अभ्यास, ड्रिल तथा सिमुलेसन जस्ता आधुनिक शिक्षण विधिलाई पाठ्यक्रममा समावेश गर्नु आजको आवश्यकता बनेको छ ।

सिमुलेसन शिक्षण विधि भनेको वास्तविक अस्पताल तथा बिरामीको अवस्थाको नक्कल गरी सुरक्षित वातावरणमा विद्यार्थीलाई अभ्यास गराउने प्रक्रिया हो । यसले वास्तविक बिरामीमा प्रत्यक्ष अभ्यास गर्नुअघि विद्यार्थीलाई आवश्यक सीप, निर्णय क्षमता, सञ्चार कौशल तथा टोलीगत कार्यशैली विकास गर्न सहयोग पुर्‍याउँछ । साथै, दुर्लभ तथा जटिल परिस्थितिमा पनि कसरी निर्णय लिने भन्ने अनुभव दिलाएर उनीहरूको आत्मविश्वास वृद्धि गर्छ ।

चिकित्सा शिक्षामा सिमुलेसनको प्रयोग आधुनिक अवधारणाअनुसार सन् १९३० तिरबाट व्यवस्थित रूपमा सुरु भएको मानिन्छ । यद्यपि यसको आधार प्राचीनकालमै देखिन्छ । भारतीय शल्यचिकित्सा शास्त्री सुश्रुतले आफ्ना विद्यार्थीलाई कमलको पात तथा जनावरको छालामा शल्यक्रियाको अभ्यास गराउने गरेको इतिहास उल्लेख गरिएको छ ।

त्यसैगरी सन् १९६८ मा विकसित कम्प्युटरद्वारा सञ्चालन हुने पूर्ण शरीरयुक्त मानव मेनिक्विनले चिकित्सा शिक्षामा नयाँ युगको सुरुवात गर्‍यो । त्यसपछि सीपीआर अभ्यासका लागि विशेष मोडेल तथा नर्सिङ शिक्षाका लागि विभिन्न प्रकारका मेनिक्विन र भर्चुअल सिमुलेसन प्रणाली विकास हुँदै आएका छन् ।

तपाइँको प्रतिक्रिया ।