कहाँ छ शान्ति ? त्रिलोचन आचार्य

कहाँ छ शान्ति ?  त्रिलोचन आचार्य

कपन अनलाइन

काठमाडौं असार २७ ।

कहाँ छे शान्ति ?मस्केर बसेकी नबसी घर
इन्द्रेनी पाइला टेकी नाच्दैछे त्यो कतातिर
बिहान दिउसो राती कहिले पुग्दछे कता
आएझैँ गर्दछे जान्छे भौँतारिँदै जता तता ।१।

मनका बोटमा ऐले फल्नै छाडे मिठा फल
धमिलिए कुवा धारा बग्न छाड्यो सफा जल
मान्छे मानिस जस्तो नै भेटिएनन् भनीकन
पीर चिन्ता बढी नित्य दुख्दैछ जननी मन ।२।

आउँछिन् शान्ति हाँसेर भन्दा भन्दै बित्यो युग
तर र्गिछन् सधैँ भाग्ने कस्तो नियत आखिर
उज्यालो छवि बोकेर खुलेको मन मण्डल
अडिँदैन उसै बन्छ फैलिएसरि बादल ।३।

भन्न थाले सबै मान्छे वर्तमान विक्षिप्त छ
सेवाको भावना ज्यूँदो देख्न पाइन्न लुप्त छ
ताली बजाउँने इच्छा हराउँछन् भकाभक
लम्पसार बनेको छ मुर्दाशान्ति भयानक ।४।

पाल्न सक्दैन माटोले फाल्नुपर्छ युवा पर
आमाकै काखमा नानी मान्दैछ किन यो डर ?
बग्छ यै सिर्जनाभित्र चेलीका आँसुको भल
बने दुर्घटनाग्रस्त मनका स्वच्छ तल्तल ।५।

रुपौला न्यायकी नानी चीरहरणमा परी ?
उठ्दा सन्त्रासको जालो बोल्दैनन् चिर्बिरे चरी
छैन खै बलियो चित्त खस्केको छ मनस्थिति
मजाले हाँस्नका लागि मिल्ने खै त परिस्थिति ? ।६।

भन्छे शान्ति म हिँड्नेछु बाटो बनाउँदै अब
म हिँड्नेछु सधैँ आफ्नो माटो सजाउँदै अब
सोझो हिँडेन त्यो बाटो बाँगोटिँगो हिँड्यो सधैँ
ख्रन्यो अत्यासको खाल्डो झन् शान्तिको अभावमै ।७।

नांगा आँखाहरु जे जे देख्छन् त्यो सत्य हैन कि ?
विश्वासको कतै बास बस्ने प्रबन्ध छैन कि ?
अनेकौ प्रश्नले बन्छन् घाइते सब सज्जन
सकेन शान्तिको बन्न कहिल्यै मनको वन ।८।

संरक्षित छ के शान्ति ? लहरा पहरासित
सुरक्षित कतै होला ? ताल वा छहरासित
वा सधैँ शान्ति बस्दैछे दिलभित्रै लुकेर त्यो
शान्तिको दिव्य सौन्दर्य कहाँ छ ? भन्न सक्छ को ? ।९।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।