देशभक्त : जमुना आचार्य कोइराला
कपन अनलाइन
काठमाण्डौ,असार ६।
गाउँको चोकमा झुन्डिएको राष्ट्रिय झण्डा हावासँगै फर्फराइरहेको थियो। बिहानैदेखि त्यहाँ भीड थियो । आज “देशभक्ति” विषयमा भाषण प्रतियोगिता हुने दिन ।
रामबहादुर पनि तयार भएर आयो ।उसले हातमा कागज समातेको थियो, जसमा ठूला अक्षरमा लेखिएको थियो ः “देशप्रेम हाम्रो कर्तव्य तथा सुरक्षा र संरक्षण दायित्व ” उसले जोशका साथ भाषण दियो ।
“हामीले देशका लागि ज्यान दिनुपर्छ, देशको माटोको रक्षा गर्नुपर्छ…”
भीडले ताली बजायो । निर्णायकहरूले पनि प्रसंशा गरे ।
कार्यक्रम सकिएपछि सबै आ–आफ्नो बाटो लागे ।
रामबहादुर चोकको छेउमा पुग्दा एउटा वृद्ध मानिस झण्डाको मुनि फोहोर टिप्दै थिए । कसैले वास्ता गरेको थिएन ।
रामबहादुर हतारिँदै अघि बढ्यो । बाटोमा उसले चिप्सको खाली खोल फाल्यो र फोनमा साथीलाई भन्यो ।
“आज त मैले देशभक्ति देखाएँ, पक्का पहिलो हुन्छु !”
त्यही बेला उसको नजर फेरि त्यो वृद्धतिर गयो । वृद्ध अझै पनि शान्त रूपमा फोहोर उठाउँदै थिए ।
रामबहादुर एकछिन रोकियो । आफूले नै फालिएको खोलले आँखा तान्यो ।
उ एकछिन मौन भयो । अनि फर्केर गयो । आफूले फालेको खोल उठायो र वृद्धसँगै फोहोर टिप्न थाल्यो ।
वृद्ध मुस्कुराए ।
“छोरा, देशभक्ति भाषणमा होइन, व्यवहारमा देखिन्छ ।”देशभक्त बन्न शब्द होइन, कर्म चाहिन्छ ।
रामबहादुरको टाउको निहुरियो ।
सहकार्य ; कपन बानेश्वर साहित्यिक साप्ताहिक
