प्रवेशिका परीक्षा : विश्वजीत गुप्ता (विशाल)

प्रवेशिका परीक्षा : विश्वजीत गुप्ता (विशाल)

कपन अनलाइन

काठमाण्डौ,असार ६।

गाउँको निकै प्रतिष्ठित शैक्षिक संस्था थियो जहाँ शहरका कतिपय शिक्षार्थीहरूसमेत अध्ययनको सिलसिलामा धनाधन भर्ना हुन शिक्षालयद्वारा आयोजित प्रवेशिका परीक्षामा सामेल भइरहेका थिए। विद्यालयको परिसरमा त विद्यार्थीहरूको घुइँचो थाम्न नसक्नेगरी थियो । प्रतिदिन ९० देखि १०० जनासम्म नयाँ विद्यार्थीहरू प्रवेशिका परीक्षा दिन्थे ।
सोही क्रममा एक दिन विद्यार्थीहरूको लर्कोसँगै एकजना अनौठो विद्यार्थी पनि उपस्थित भए । उनको हुलिया देखेर शिक्षकवर्ग अचम्म परे साथै उपस्थित सम्पूर्ण विद्यार्थीहरू त उनको खिल्लीसमेत उडाउने प्रत्यन गरे । लामो, तेलमुक्त र नकोरिएको कपाल, उस्तै लामा नङ्ग्राहरू, मलिन पोसाक, आदि देखेर उप प्रधान अध्यापकसमेत छक्क पर्नुभयो ।
उहाँले त्यो विद्यार्थीलाई उसको रूपको कारण उसलाई अनुशासनहीन वा पढाइमा कमजोर ठानेर मनमनै प्रवेशिका परीक्षा दिलाउनबाट वञ्चित गर्न सोच्नुभयो र विद्यालयको प्रधान अध्यापक सरसँग आफ्नो विचार पनि व्यक्त गर्नुभयो । प्रधानाध्यापक सरको असहमतिले गर्दा त्यो विद्यार्थीलाई प्रवेशिका परीक्षामा सहभागी हुन दिइयो ।
परीक्षा सकेको केही घण्टाभित्रै परिणाम आयो । तिनी त सर्वोत्तम अङ्कका साथ परीक्षा टप गरेछन् । अन्तमा यो सुनेर सबै झस्किए । प्रधान अध्यापक सरले मुस्कुराउँदै उप प्रधानाध्यापक सरतर्फ इशारा गर्दै अङ्ग्रेजीमा एउटो भनाइ, “नेवर जज अ बुक बाइ इट्स् कवर” मौखिक तरिकाले साभार गर्नुभयो । अन्तिममा त्यो नयाँ पात्र विशालप्रति सबैले बधाई तथा शुभकामना व्यक्त गर्नुभयो अनि सबैको साझा जिज्ञासालाई कदर गर्दै प्रिन्सिपल सरले तिनको माझ प्रश्न राख्नुभयो । उनले केहीदिन अगाडि आफ्नो बुबा बितेको रहस्य खुलाए र उनको आँखा भरियो । सबै पश्चात्ताप महसुस गरे । सँगै आएका विद्यार्थी साथीहरू माफी मागे । शिक्षकवर्गले सहानुभूति व्यक्त गर्नुभयो । प्रधान अध्यापक सरले शिक्षकवर्गकै सल्लाहबमोजिम एक असल एवम् जेहेनदार पात्र विशाललाई पूर्ण छात्रवृत्ति दिलाउने निर्णय गर्नुभयो र सोको लागि अलिकति पनि ढिलाइ नगरी विद्यालय व्यवस्थापन समितिमा सिफारिस गर्नुभयो । विशाल पहिलाभन्दा प्रफुल्लित भए ।

सहकार्य ; कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।