वर्षा : त्रिलोचन आचार्य (कविता)

वर्षा : त्रिलोचन आचार्य (कविता)

कपन अनलाइन

काठमाण्डौ,असार ६।

१. आशाको बिम्ब हो वर्षा जहाँ छाती प्रफुल्ल छ
आस्थाको रंग हो वर्षा जहाँ शान्ति झलल्ल छ
बेलाको लय हो वर्षा जहाँ भाव अनन्त छ
खेला हो सृष्टिको वर्षा जहाँ सन्त प्रपञ्च छ

२. वर्षा वादलको नानी डुल्छ आकाशमा रमी
वर्षा गाजल आँखाको हाँसोको नहुने कमी
वर्षा सौन्दर्यको भेल जहाँ उत्सव रंग छ
वर्षा हो सिर्जना बिन्दु जहाँ संसार दंग छ

३. व्यवहार गरी मैले जोडे पनि अनेकन
व्यवधानहरु मैले तोडे पनि अनेकन
गरेर यत्न यात्राको टेके पनि उचा चुली
विनावर्षा सबै हुन्छ निरीह अनि मामुली

४. यसैका हातले गोड्छ रमेर खेतका गरा
उडान यसले भर्छ बनेर नभका चरा
भरी सागरको गाग्री यो सुस्ताउन्न मस्त भै
छोड मानिस हो धक्कू कमाई यसको सबै

५. के गथ्र्यो अन्यथा मान्छे पाटो भिज्दैनथ्यो भने
हराभरा धरा बन्ने बाटो खुल्दैनथ्यो भने
के हेथ्र्यो मनुवा बिर्से इन्द्रेणी नझरे यता
विना वर्षादको धर्ती हराउँथ्यो कता कता

६. आओ मेघ यता डुल्दै सजाई सिर्जना लय
तातो उत्पातको हुन्छ कल्पनामात्रले भय
चोटले बन्न सक्दैन माया र प्रेमको धुरी
रस माधुर्यले बन्छ सिंगै सृष्टि अजम्बरी ।

सहकार्य ; कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।