बुढानिलकण्ठ-१३ गाम्चामा निःशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न , १२० भन्दा बढी लाभान्वित
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ १७ ।
बुढानीलकण्ठ सोसल युथ क्लबको आयोजनामा गाम्चामा सञ्चालन गरिएको निःशुल्क दन्त स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा १२० भन्दा बढी स्थानीय बासिन्दाले प्रत्यक्ष रूपमा स्वास्थ्य सेवा प्राप्त गरेका छन्।
शिविरको प्रमुख अतिथिका रूपमा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य इन्द्र कुमार भुसालको उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न सामाजिक व्यक्तित्व, स्थानीय अगुवा तथा सर्वसाधारणको समेत उल्लेखनीय सहभागिता रहेको थियो। अनुभवी दन्त चिकित्सकहरूको टोलीद्वारा दाँत परीक्षण, परामर्श, दाँत सफा (स्केलिङ), आवश्यक परे दाँत निकाल्ने तथा औषधि वितरण लगायतका सेवाहरू निःशुल्क रूपमा प्रदान गरिएको थियो।
साथै थप उपचार आवश्यक पर्ने सेवाग्राहीहरूलाई विशेष छुटको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ। समुदायमा दन्त स्वास्थ्य सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त शिविरबाट स्थानीयवासीहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउने ओम समाज डेन्टल, सहयोगी संस्था, स्वयंसेवक तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण महानुभावहरूप्रति क्लबले हार्दिक आभार व्यक्त गरेको छ।
