अलपत्र सुवर्ण शमशेर मैदान र मन्त्री सस्मित पोखरेललाई चुनिखेलका श्री कृष्ण श्रेष्ठको खुल्ला पत्र !
कपन अनलाइन
काठमाण्डौ ,चैत २५।
बुढानिलकण्ठ नगरपालिका वडा नं १३ मा रहेको अलपत्र सुवर्ण शमशेर क्रिकेट मैदानका बारेमा स्थानीय समाजसेवी युवा श्री कृष्ण श्रेष्ठ ( आयन) ले शिक्षा र युवा तथा खेलकुद मन्त्रि सस्मित पोखरेल खुल्ला पत्र लेखेका छन।
सधै चर्चामा रहने तर संवेदनशील प्राथमिकतामा नपर्ने यस मैदानको निर्माण अलपत्र भएको वर्षौ भैसकेको छ। यसको पूर्वाधार निर्माणका लागि करोडौ बजेट आए पनि हाल सम्म खेलकुद पूर्वाधारको काम नगन्य रहेको सो मैदानमा निर्माणका लागि पटक पटक संचार माध्यम र स्थानीयहरुले आवाज उठाउदै आएका छन।
यस क्रममा चुनिखेलका स्थानीय श्रेष्ठले लेखेको खुल्ला पत्र :
माननीय मन्त्री ज्यु
सस्मित पोखरेल
शिक्षा ,विज्ञान तथा प्रविधि ; युवा तथा खेलकुद
बुढानिलकण्ठ नगरपालिका प्रमुख, उपप्रमुख, वडा नं. १३ (गाम्चा) का जनप्रतिनिधि, स्थानीय नेता, कार्यकर्ता तथा सम्बन्धित सरोकारवाला निकायहरू प्रति
बुढानिलकण्ठ नगरपालिकाको वडा नम्बर १३ (गाम्चा) मा अवस्थित सुवर्ण क्रिकेट स्टेडियम (रंगशाला) निर्माणको विषयमा म एक स्वतन्त्र नागरिकको रूपमा यो खुला पत्र लेख्दैछु। सुवर्ण क्रिकेट स्टेडियम, बुढानीलकण्ठ नगरपालिका (गाम्चा) मा २०७१ फागुन १७ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरे । कांग्रेस संस्थापक नेता स्वर्गीय सुवर्णशमशेर राणाको नाममा रहने उक्त रंगशाला ९५ रोपनी जग्गामा लगभग २५ करोड खर्चमा निर्माण हुने योजना थियो। तर हालसम्म यो पूर्ण रूपमा निर्माण भएको छैन, तर, अत्यन्त दुःखका साथ भन्नुपर्दा, विगत १० वर्ष बितिसक्दा पनि यो परियोजना पूर्ण रूपमा सम्पन्न हुन सकेको छैन। विभिन्न समयमा बजेट विनियोजन भएको भनिए तापनि, हालसम्म वास्तविक रूपमा अनुमानित 20%–30% मात्र निर्माण कार्य सम्पन्न भएको देखिन्छ र बाँकी कार्य अलपत्र अवस्थामा रहेको छ।
विशेषगरी, अहिले तपाईँ युवा पुस्ताको प्रतिनिधित्व गर्ने “Gen Z” नेतृत्वको रूपमा अगाडि आउनु भएको सन्दर्भमा मलाई नयाँ आशा र भरोसा जागेको छ। त्यसैले यस दीर्घकालीन रूपमा अल्झिएको परियोजनामा तपाईँको विशेष ध्यान आवश्यक देखिन्छ।
यदि बुढानिलकण्ठ नगरपालिकाभित्र यो रंगशाला राष्ट्रियस्तरको खेल संरचनाको रूपमा निर्माण हुन सकेमा, यसले केवल क्रिकेट खेलको विकासमा मात्र होइन, समग्र खेलकुद क्षेत्रकै उन्नतिमा उल्लेखनीय योगदान पुर्याउनेछ। आजको दिनमा नेपालमा अन्तर्राष्ट्रिय स्तरका खेल संरचनाको अभाव महशुस भइरहेका बेला, यस्तो रंगशाला निर्माण हुनु अत्यन्तै सान्दर्भिक र आवश्यक देखिन्छ।
यसले खेलकुद विकाससँगै पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण भूमिका खेल्नेछ। काठमाडौँ क्षेत्र नं. ४ लगायत आसपासका क्षेत्रहरूमा आर्थिक गतिविधि वृद्धि भई स्थानीय व्यवसायहरू फस्टाउनेछन्। साथै, साना तथा ठूला होटल, रेस्टुरेन्ट तथा अन्य सेवा क्षेत्रहरू सञ्चालन भई रोजगारीका अवसरहरू सिर्जना हुनेछन्।
आजको अवस्थामा नेपालमा क्रिकेटप्रति जनचासो तीव्र रूपमा बढिरहेको छ। अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको उपस्थितिले सम्पूर्ण नेपालीलाई गर्वको अनुभूति गराएको छ। यस्तो समयमा बुढानिलकण्ठजस्तो क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण गर्नु केवल आवश्यक मात्र होइन, समयको स्पष्ट माग पनि हो।
अतः, यस खुला पत्रमार्फत म सम्माननीय मन्त्रीज्यू समक्ष निम्न मागहरू स्पष्ट रूपमा प्रस्तुत गर्न चाहन्छु:
१. हालसम्म के कति बजेट खर्च भएको छ ? सार्बजनिक गरियोस । साथै अब मुर्तरुप दिन कति बजेट आवश्यक पर्ने हो सरकारले प्राथमिकतामा राखेर छुट्याइ काम अगाडि बढाओस ।
२. यस परियोजनामा संलग्न निकायहरू—ठेकेदार, प्राविधिक टोली तथा सम्बन्धित मन्त्रालय—को स्पष्ट पहिचान र जिम्मेवारी निर्धारण गरियोस्।
३. सबैभन्दा महत्वपूर्ण, यो रंगशाला कहिलेसम्म पूर्ण रूपमा सम्पन्न हुन्छ भन्ने ठोस समयसीमा (Deadline) तत्काल तोकिनुहोस् र त्यसको कडाइका साथ कार्यान्वयन गरियोस्।
तपाइँको प्रतिक्रिया ।
