बुढानिलकण्ठ -११ जङ्गला देवी परिसरको सार्वजनिक जग्गा नापजाँच, संरक्षणमा स्थानीयको चासो
कपन अनलाइन
काठमाण्डौ ,चैत २२।
बुढानिलकण्ठ नगरपालिका वडा नं. ११ स्थित जङ्गला देवी परिसरमा रहेको सार्वजनिक जग्गाको संरक्षण तथा व्यवस्थापनलाई लक्षित गर्दै विस्तृत नापजाँच कार्य सम्पन्न गरिएको छ। नगर प्रमुख मिठाराम अधिकारीको रोहबरमा सार्वजनिक जग्गा संरक्षण समितिको पहलमा उक्त नापजाँच कार्यक्रम सञ्चालन गरिएको हो।
दीर्घकालदेखि अतिक्रमणको जोखिममा रहेको उक्त सार्वजनिक जग्गाको यथार्थ अवस्था पहिचान गरी स्पष्ट सीमांकन गर्ने उद्देश्यले प्राविधिक टोलीमार्फत नापजाँच गरिएको नगरपालिकाले जनाएको छ। स्थानीय तहले सार्वजनिक सम्पत्तिको संरक्षणलाई प्राथमिकतामा राख्दै यस प्रकारको कार्यलाई तीव्रता दिएको बताइएको छ।
नापजाँच कार्यक्रममा नगर प्रमुख, वडा नं. ११ का जनप्रतिनिधि, नापी सम्बन्धी प्राविधिक टोली, सार्वजनिक जग्गा संरक्षण समिति तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले सार्वजनिक जग्गा संरक्षणलाई सबै नागरिकको साझा जिम्मेवारीका रूपमा लिनुपर्ने धारणा व्यक्त गरेका थिए।
सार्वजनिक सम्पत्तिको संरक्षणमा कुनै पनि किसिमको लापरबाही सहन नहुने स्पष्ट पार्दै अतिक्रमण रोकथामका लागि कडा कदम चालिने बताउदै समितिका संयोजक लक्ष्मी संग्रौलाले नापजाँचबाट प्राप्त विवरणका आधारमा आगामी दिनमा आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया अघि बढाइने जानकारी दिए।
