चार मुक्तक : लुमन्ति चित्रकार

चार मुक्तक : लुमन्ति चित्रकार

कपन अनलाइन
काठमाण्डौ ,चैत १४।
भ्रष्टहरूकै कारण आज ऋणमा डुबेको छ देश
रगत चुस्यौ नेपाल आमाको हेर सुकेको छ देश
जाग अब जनताहरू देशको शिर उँभो लाउन,
नेता भनाउँदा अति दुष्टहरूले लुटेको छ देश ।

तिमी भन्दै जाउ तिम्रा मनका कुरा सुन्ने म छु
बेलि बिस्तार लगाउ धड्कनका कुरा सुन्ने म छु
दुनियाँको कहर वा आफ्नै रगतले दिएको जहर,
कसैलाई भन्न नसकेका जीवनका कुरा सुन्ने म छु ।

बिरामी छन् अचेल शरीरका धमनी अनि शिराहरू
निधारको शोभा बढाउछन् रङ्गबिरङ्गि टिकाहरू
हरेक दिन मेरो हृदयलाई जहर पिलाउँछु म,
तैपनि खै किन मर्दैनन् दिल भित्रका यी पिडाहरू ।

आमाले धरती छाडिन् एउटा कहानी अन्त्य भएको छ
आज सन्तानको मनोमानी गर्ने बानी अन्त्य भएको छ
अब जिउन सिक्नुपर्छ तिमीले मातृत्वको याद संगाली,
बुझेर सदाको लागि ममताको खानी अन्त्य भएको छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।