पाठ्यपुस्तक तथा पोशाक विक्री वितरण नगर्न विद्यालयहरुलाई काठमाडौं महानगरको चेतावनी
कपन अनलाइन
काठमाण्डौ,चैत १०।
काठमाडौं महानगरपालिकाले विद्यालयहरूलाई पाठ्यपुस्तक तथा पोशाक बिक्री–वितरणमा अनियमितता नगर्न कडा निर्देशन दिएको छ। महानगरको शिक्षा विभाग, कमलादीले जारी गरेको सूचनामा अभिभावक तथा विद्यार्थीलाई अनावश्यक आर्थिक भार पार्ने कार्य नगर्न आग्रह गरिएको हो।
महानगरका अनुसार केही विद्यालयहरूले निश्चित प्रकाशनका पुस्तक तथा पोशाक मात्र किन्न बाध्य बनाउने, अनावश्यक सामग्री खरिद गर्न दबाब दिने लगायतका गुनासा प्राप्त भएपछि यस्तो चेतावनी जारी गरिएको हो। यस्ता गतिविधि प्रचलित नियमविपरीत हुने भन्दै तत्काल सुधार गर्न निर्देशन दिइएको छ।
सूचनामा विद्यालयहरूले सरकारी मापदण्डअनुसार स्वीकृत पाठ्यपुस्तक मात्र प्रयोग गर्नुपर्ने, अभिभावकलाई एउटै पसल वा ब्रान्डबाट सामग्री किन्न बाध्य पार्न नपाइने र पोशाक तथा शैक्षिक सामग्रीमा अनावश्यक खर्च बढाउने कार्य नगर्नुपर्ने स्पष्ट उल्लेख गरिएको छ।
यसैगरी, विद्यालयले विद्यार्थी भर्ना गर्दा वा पढाइका क्रममा कुनै किसिमको अतिरिक्त शुल्क, चन्दा वा सहयोगका नाममा रकम असुल गर्न नपाइने महानगरले जनाएको छ। नियम उल्लङ्घन गर्ने विद्यालयमाथि कानुनी कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
