चार मुक्तक : सुशील रिजाल

चार मुक्तक : सुशील रिजाल

कपन अनलाइन

काठमाण्डौ,चैत ९।

भित्रभित्रै तड्पिएर छड्किरहेंँ भने
बिराएर बाटो कतै भड्किरहेंँ भने
सम्झाउनु है तिमीले आफ्नै ठानी प्रिय
एउटै कुरा मनमा राखी अड्किरहेँ भने ।

तिमी नै मेरी कल्पनाकी काली भनेर बस्छु
उदासीमा पठाएको खुसीयाली गनेर बस्छु
निस्वार्थ प्रेमलाई अजम्बरी बनाउँदै सधैँभरी
तिमी फुलिरहने बगैँचाको माली बनेर बस्छु ।

हुरी या त आँधी आओस् सक्दैन छेक्नलाई
शब्दले मसी र सादा पाना खोज्दैछ भेट्नलाई
ढुङ्गा फोरेर पीपल उम्रिन्छ कठिनाई मान्दैन
मुख थुन्दैमा कलम रोकिन्न काव्य लेख्नलाई ।

सुसाउनुपर्छ यो सुन्दर जीवन मधुर संगीतमा
सकरात्मक बन्दै मुस्कुराउँदै अरुको जितमा
कुभलो कहिल्यै मनमा नआओस् हे इश्वर मलाई
यो मन लागोस् बाँचुञ्जेल सधैँ दुस्मनको हितमा ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।