अनुभवको मात्र गर्छौ राजनीति : राजन प्रसाद न्यौपाने श्रीयम ( कविता )

अनुभवको मात्र गर्छौ राजनीति : राजन प्रसाद न्यौपाने श्रीयम ( कविता )

कपन अनलाइन

काठमाण्डौ ,फागुन ९।

खाएको विष
नलाग्न सक्छ मर्ने नै गरेर
निको पार्न नि सक्छ
अस्पतालले चनाखो भएर
कती घोचेको छाती
सुइले भन्दा बढी
बोली र बचनले
देखेर सधैं संजालभरी
कहाँ पो होला अस्पताल
निको पार्ने बिरामी
नखाएको विष नलाग्ने गरी ।
सधैं धक्का
मान्छे जो साधारण
जीवनभरी
बोलेरै मुद्दा जितिने
कस्तो बस्दैछ संस्कार
सामाजिक संजालमा
औकात झल्कनेगरि
देख्ने सुन्ने भोग्नेहरु
कता पसे खै
सत्य बकपत्र गर्नुपर्ला भनी
दुश्मन दुर्जन हुने आखिर
एकैठाँउ
सेतो छालाभित्र कालो
मैलो स्वार्थ छोपिएपछि
मित्र ,सत्रु बन्ने
खुड्किला चढेको बिर्सिएपछि
कुन ठाँउमा होला अस्पताल
खोजी जारी छ
अब हुन्न ढिलो गर्न
नखाएको विष लागेर
ठहरै हुने भएपछि
टहरा होस् या महल
छाडेर होस् या छ्क्काएर होस्
बोकेर बियर र चना केराउ
यार्सागुम्बा र ट्याब्लेट
उरालेर प्रेमको नारा
बाडेर जन्मदिनको चक्लेट
कहाँ होला समाज
बुझाउन नसक्ने
रिस डाहाले आफ्नो अनुभव
दोश्रोलाई थोपरेर
नक्कली क्रिमले छोपेको आफ्नै अनुहार
सर्जरी गर्ने
कता होला अस्पताल
सोच्दै नसोचेको कुरा
प्रमाणित गर्न संजालमा साक्षी खोज्दै हिड्ने
उपचार गर्ने मानसिक रोगीलाई ।
चोरलाई मात्र हुन्छ अनुभव
अध्यारोमा
फुटाउने ताला कसरी भनेर
हरेक भाव निस्कन्छन्
जस्ताको तस्तै
आफ्ना कार्य र अनुभव
अनुभूति बनेर
मीठो लागेर होला
एक घुड्की रक्सीमा साटेको नाता
प्यारो होला अरु मार्फत
जोडिएको नृत्यको नाता
अदम्य यो विषको पाला पनि
आफूले खान पाए अमृत हुने
अरुले छुदै नछोएपनि
विष लाग्ने
हिङ बाँधेको टालो नै हो
गनाउने
कता होला अस्पताल
आफू निवस्त्र भएर पनि
अरुलाई नाङ्गो देख्ने
पदका ठेक्कावालहरुलाई जचाँउने ।
अरुको घुम्टो खसेकोमा
कति खिल्ली उडाउने हो र
इतिहास ज्यूउँदै छ
आफ्नो पेटिकोट सहित
सारी खसेको
पाइन्टको बटम चुडेको
टाउकोको टोपी खसेको
कस्ता मिठा मधुरवाणी शब्द
कुन होला विश्वविद्यालय
जीवनभरी त्यही पढेको
आहा ! छ शैली
मुटु बचाउन
टाउको छिनालेको
कता होला अस्पताल
अमृत र विष चिन्न नसक्नेलाई
दुर्जन ओठ,तितो जिब्रो र
अवचेतन मष्तिश्कको
शल्यक्रिया गर्ने स्वघोषित सज्जनलाई
यस्तै हुन्छ रहेछ
भ्यागुतोलाई समुद्रको
स्वतन्त्रता दिएपछि
कठै अरुका अङ्ग सबै देख्दोरहेछ मान्छे
आफू पुरै नाङ्गो भएपछि
नागा र नाङ्गाहरुको पनि त
समाज हुँदोरहेछ
सज्जनसंग सल्लाह लिन खोज्दा
खै किन हो
दुर्जनसंग डराएर होला
उसले पनि त्यही मानसिक अस्पताल
रोज्दोरहेछ
को मित्रु को शत्रु
मौका हेरेर हरिश्चन्द्रको
कथा बिर्सदोरहेछ
सुनेर बदलाको कथा
मान्छे जस्ता देखिने पशुहरु पनि
झुक्किने र अल्मलिनेरहेछ
पाउँदा बनाएर हतियार
थाप्ने आफैं हो मान्छे
नपाएपछि स्वार्थको साथ
मायाको टहरा भत्काउने पनि मान्छे
विडम्बना !
आफ्नै जीवन कथा र चरित्र
अरुमाथि देखेर
इतिहास रच्न उस्तै उस्तै जमात
बटुल्ने पनि मान्छे
नपत्याए, हिजो जनताको पसिना खाएर
आफू ठूला बनेका
आज आफ्नो अस्तित्व बिर्सेर
पदिय मर्यादा कुल्चेर
आफैंले जन्माएको दल नै सकाउन
लागेका नेता जस्ता देखिने
हिम्स्रक जनावरलाई हेर्दा भयो नि !
छि ः राजनीतिका केही किराहरु
कता होला अस्पताल
गर्नलाई उपचार यिनीहरूको ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।