पृथ्वी हाम्रो जीवन : भलादमी भोला ( कविता )
कपन अनलाइन
काठमाण्डौ,माघ १० ।
म माटो हुँ राष्ट्रभक्तिको
पौरखीको चिनारी हुँ
म पानी हुँ हिमशैलको
सिर्जनाको सृष्टि हुँ
म धुन हुँ सङ्गीत भर्छु
पाखा पखेरामा गुञ्जने गर्छु
म फैलन सक्छु सुगन्ध छरेर
संसारमा प्राण भरेर
म पानी निचोरेर माटोको
फलाउँछु रसिला फल
आयु दीर्घायु हुने
जरुवा पहाडको तल
देखिन्छन् खुसीमा फुलेका
उज्याला हिमचुलीहरू
थुम्कामा मयुर नाच्दा
खुलेका पहाडहरू
इन्द्रधनुष रङ्ग्याउने
को हुन् कालीगडहरू?
धर्ती रूप हो हाम्रो
विरूप हुन दिन्न म
धर्ती जीवन हो हाम्रो
मृत हुन दिन्न म
धर्तीमा विकासको मूल
फुटाउनु पर्छ भन्दैमा
मुटु चिरेर आफ्नो
जीवन त्याग्न दिन्न म
जोगाए चौतारा, धारा
हरियाली पर्यावरण
आरोग्य जीवन पाइन्छ
यही नै हो हाम्रो धन
चेत भर्दै मष्तिस्कमा
जगाउँछु दिव्य ज्ञान
सधैँ पवित्र पुण्य यो
पृथ्वी हाम्रो जीवन ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
