कौसी र कविता : सुष्मा चित्रकार
कपन अनलाइन
काठमाडौं,पुस ५।
हेमन्तको हावा
कौसीको चिसो भुइँ
पुरानो मुढा
पहेंलो पोतिएसरि
एक टुक्रा
पोखिंदै आएको घाम
आङमाथि छुँदै गरेको न्यानो
मानौं प्रियको स्पर्श ।
पर डाँडापछाडि
क्षितिज चुम्न खोजेको
फुस्रो हिमालको सानो टुप्पो
साथमा गफ्फिने कोही नहुँदा
नियास्रो मानेर
मुन्टो बटारे झैं ।
मौन उभिएका
घरहरूका छतमा
टन्न अघाएका
हरिया र काला पानी टंकीहरू
निश्चिन्त
भलाकुसारी गर्दै छन्
एक अर्कासँग ।
उडान भर्दै छ टाढा
चुचुरा संगसंगै
सेता पखेटा फैलाई
चील जत्रै देखिएको हवाईजहाज
एक सुरमा
आफ्नो गन्तव्यतिर ।
पर्खालको डीलमा
त्तताइएको सुन्तला
झुरेको बदाम
एक चिम्टी नुन
बटारिंदै छन् आँखा ।
अचारका बोतलभरि
भोक उमार्ने बास्ना
माटोको घैँटोभित्र
घामले पकाएछ
खाँदिएको गुन्द्रुक ।
छानामाथि
पखेटा सेक्दै परेवा
कौसीको बारमा
चिरिबिरी चरी
तातेका गमला
माटो कोप्दै कुटोले
उखेल्दै रोप्दै कविता
फुर्सदिलो म ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
