के माता ! ममताविना ? त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाण्ड,मङ्सिर ६।
छोडी बालक शून्य त्यो सडकमा फक्र्यौ कसोरी घर ?
आमाको ममता र स्नेह बलको बन्दै महादुर्बल
त्यागी हाल्नु थियो भने किन अहो ! ल्यायौ धरा धाममा ?
मौका गौरवको थियो किन सबै पा¥यौ धुलो व्यर्थमा ?
धर्ती डग्मग हुन्छ यो जगतका आमा बने दुच्छर
नानी काख लिई बसे सरहको होला र के सुन्दर ?
गर्ला पालन यै बढेर नभनी, राख्यौ कहाँको भर ?
सोझो मार्ग हिँडेर यो तरहको दुष्कर्म को गर्छ र ?
नानी रोइरहेछ त्यै सडकको एकान्त पेटीतिर
झार्दै आँसु चियाउँछन् गगनका ताराहरु पिल्पिल
छाती पत्थरको रहेछ कसरी छाडेर फर्की गयौ
आमाको पदबाट झट्पट झरी माता कुमाता भयौ
के खान्थ्यो विचरा ? हुने सब थियोे माया दिएको भए
राख्नेथ्यो मनसाय सुन्दर सफा हुर्केर ठूलो भए
पुछ्थ्यो आँसु भरेर प्रेम, जननी माया चुँडाली गयौ
त्यो बाँचोस् कि मरोस् विवेक छ कहाँ ? स्वार्थी स्वयं देखियौ
आँखा सामु समुच्च बालवयको तस्वीर घुम्दैन र ?
छाती हर्दम मातृस्नेह रसले पोलेर जल्दैन र ?
आमा शब्द बनेर बाँणसरिको घोच्दैन भित्रै पसी ?
नारी हौ कि तिमी विषाक्त दिलकी, ए हौ कुनै राक्षसी?
गल्ती आफु गरी सजाय शिशुमा सारा खन्यायौ किन ?
टीका व्यर्थ कलङ्कको युग युगौँ पोल्ने लगायौ किन ?
होस् उध्दार कि वा विलाउँछ धरा फाटेर के खस्खस ?
हे माता ! ममताविना मुुटु भरी, राखेर ढुंगा बस
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
