ए काठमाण्डु : त्रिलोचन आचार्य (कविता )

ए काठमाण्डु : त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन

काठमाण्ड,कार्तिक २९।

कसै कसैको र अरु कसैको
यतै कतैको कहिले उताको
बन्नू नपारी हतियार धार
हिँड् काठमाण््डु तँ बनी उदार ।१।

बोकी अनेकौँ लय तन्त्र वाद
पञ्जा फिँजाएर बसिस् छ ताज
झम्टेर आए कति बस्नु रोक्दै
बस् काठमाण्डु तँ अनेक खोक्दै ।२।

चुनावका बोक् र विचारका बोक्
दंगा फसादी व्यवहारका बोक्
दे आउँछन् जो किन बस्नु छेकी
बस् काठमाण्डु तँ सगाल्न भेटी ।३।

बस्ती डुबाए पनि बाँच्न सक्नु
आगो लगाए पनि हाँस्न सक्नु
बुझिन्न तेरो पहिचान फेरो
भन् काठमाण्डु जय गान के हो ।४।

पाए तँलाई घर भुल्छ मान्छे
बिर्सेर आफैँतक डुल्छ मान्छे
खाइस् पचाइस् अपगाल गाल
बन् काठमाण्डु तँ चिसो हिमाल ।५।

खाने किनेरै रिनबाट नै हो
जाने नबिर्सीकन घाट नै हो
उङ्दै निदाईकन हल्लिएरै
उठ् काठमाण्डु नभुली सबेरै ।६।

हेर् दौडिएका परदेश सारा
छन् वृध्द वृध्दा छ कहाँ सहारा ?
छोरा उकाली नचढे नि हुन्छ
भन् काठमान्डु नपढे नि हुन्छ ।७।

आफैँ तँ टेकेस् नि दरो खरो भै
खुट्टा अडिन्थे किन लर्तरो भै
खाए नि मुक्का अडियोस् परान
भन् काठमान्डु म हूँ स्वाभिमान ।८।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।