प्रेम, तिमी को हौ ? अञ्जु चालिसे (रुपाञ्जली)
कपन अनलाइन
काठमाण्ड,कार्तिक २९।
प्रेम, तिमी को हौ ?
न आभास दृष्टिमा तिम्रो उपस्थितिको
न आहाट सृष्टिमा तिम्रो पदचापको
न त तिमी सीमित छौ शब्दमा कसैको
न त तिमी सीमित छौ नजरमा कसैको
तिमी कविता होइनौ कविको,
तर पनि झर्दछौ तप तप, हृदयबाट आँसु बनी
र दिने गर्छौं हरेक शब्दलाई अर्थ जीवन मानी
लाग्दछ मलाई तिमी त्यो मौन स्पर्श हौ
जसले मनको अँध्यारो काठमा पुगेर
किरण झल्काइदिन्छ अलिकति उज्यालो को
लगाउने गर्दछ मलहम, दुखेका घाउहरूमा सान्त्वनाको
प्रेम, तिमी को हौ ?
तिमी केवल बोली मात्र पनि त होइनौ,
मलाई लाग्दछ तिमी अक्षरको निस्तब्धता हौ
जहाँ तिमी बोलिरहन्छौ धड्कन बनी
मानवका भावनाबाट झरीरहन्छौ झरनाझैँ
बिना संवाद, बिना शब्द, निशब्द
अक्सर मानिसहरू तिमीलाई सौन्दर्यमा खोज्ने गर्दछन्
तर म भन्छु प्रेम,
तिमी रूप पनि त होइनौ
न तिमी सुन्दरता मात्र हौ
जसले तिम्रो अस्तित्वको उपस्थितिलाई नकार्न सकोस्
प्रेम,
मलाई त लाग्दछ
तिमी करुणा हौ
जो छल्की रहन्छ, पिताको मधुर मुस्कान सरी
झल्किरहन्छ, माताको निस्वार्थ ममताको नजर भरि
र लाग्दछ अथाह वेदना पनि हौ, जो छल्किरहन्छ आर्तहरूको चित्कार बनी
तिमी केवल मात्र शब्द पनि त होइन,
तिमीलाई अनुभव गर्न
शब्दहरूको आवरणको आवश्यकता परोस्
तिमी केवल दृश्य मात्र पनि होइनौ
जसलाई अनुभव गर्न दृष्टिको आवश्यकता रहोस्
तिमीलाई बन्धन छैन समयको तिमी नाद हौ
शून्यबाट बग्छौ र शून्यमै हराउँछौ तिमी साधना हौ शिवको
तिमी आराधना हौ शक्तिको
तिमी प्राण हौ सृष्टिको धड्कनको
तिमी नै भन प्रेम
आखिर तिमी को हौ
प्रेम, तिमी साँच्चै को हौ ?
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
