राष्ट्रिय सहमति : डा. टीकाराम पोखरेल (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक १५।
देशकाप्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको वैठक बस्ने तय भयो ।
यो कुरा मिडियाले सुटुक्क थाहा पाएपछि एजेण्डाको खोजी भो । पत्रकारले प्रमुखनेताको सचिवालयमा फोन गरेर सोधे– ‘शीर्ष नेताहरू बीच वैठक बस्ने तय भएछ । एजेण्डा चाहिँ के हो ?’
‘राष्ट्रिय सहमति ।’ सचिवालय प्रमुखले छोटो उत्तर दिए । ‘मतलब के विषयमा राष्ट्रिय सहमति गर्ने हो ?’ पत्रकार थप स्पष्ट हुनचाहे ।
‘वर्तमानअवस्थामा देश सङ्कटको अवस्थामा छ, त्यही सङ्कट टार्न राष्ट्रिय सहमति ।’ सचिवालयबाट उत्तर आयो ।
‘अचानकदेशमा के सङ्कट आयो र त्यस्तो ?’ पत्रकारले पुनःप्रश्न गरे ।
‘के सङ्कट आयो त त्यहीँ वैठकस्थलमै थाहापाइहाल्नु हुन्छ नि । तपाईँलाई अहिल्यै किनहतारो ?’ उल्टै पत्रकारले प्रश्नको झटारो भेटे ।
एकैछिनमा ‘राष्ट्रिय सहमतिका लागि शीर्ष नेताहरू वैठक बस्दै’ भन्ने समाचारले अनलाईनहरू भरिए ।
तोकिएको समयमा वैठक बस्यो । राष्ट्रिय सहमतिको विषयमा ब्रेकिङ न्यूज दिन पत्रकारहरू वैठकस्थलमा खचाखच भए ।
वैठक सकियो ।
‘के विषयमा राष्ट्रिय सहमति भो ?’ वैठकबाट निस्कँदै गरेका एक सहभागीतिर पत्रकारहरूको सामूहिक प्रश्न ओइरियो ।
वैठकका सहभागीले जुँगामुसार्दै भने– ‘फेरि अर्को पटक वैठक बस्ने राष्ट्रिय सहमति भो ।’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
