बुढानीलकण्ठमा ‘नेपाल सम्वत् ११४६’ को उपलक्ष्यमा भिंतुना कार्यक्रम भव्यताका साथ सम्पन्न

बुढानीलकण्ठमा ‘नेपाल सम्वत् ११४६’ को उपलक्ष्यमा भिंतुना कार्यक्रम भव्यताका साथ सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक ६।

संस्कृति, परम्परा र समुदायबीचको एकतालाई सुदृढ बनाउने उद्देश्यका साथ बुढानिलकण्ठ नगरपालिका–३ चपलीमा यस वर्ष पनि नेपालको मौलिक सम्वत् ‘नेपाल सम्वत् ११४६’ को उपल्क्षयमा भिंतुना र्याली तथा विविध संस्कृतिक कार्यक्रम एवं जेष्ठ नागरिक सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको छ।

नेवारी समुदायको ऐतिहासिक र सांस्कृतिक पहिचान झल्काउने सो कार्यक्रमको अध्यक्षता नेवा: देय दबू, बूढानीलकण्ठ नगर समितिका अध्यक्ष श्यामकाजी श्रेष्ठले गरेका थिए भने  प्रमुख अतिथिका रूपमा नेवा: देय दबू केन्द्रीय समितिका संरक्षक नरेशकुमार ताम्राकार रहेका थिए।

त्यसैगरी विशेष अतिथिका रुपमा नगरप्रमुख मिठिराम अधिकारी, उप–प्रमुख अनिता लामा, अतिथिहरुमा नेवा: देय दबूका केन्द्र, प्रदेश, जिल्लाका प्रतिनिधिहरु र विभिन्न वडा अध्यक्षहरू एवं सदस्यहरु अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रमको सञ्चालन नेवा: देय दबूकी सचिव  अनिता डंगोलले गरेकी थिइन्  भने व्यवस्थापन अजिमा ल्यायम्ह पुच:चपलीका अध्यक्ष कृष्ण श्रेष्ठको नेतृत्वमा भएको थियो। समारोहको सुरुवात परम्परागत नेवारी बाजागाजा सहितको र्याली चपलिबाट बूढानीलकण्ठ मन्दिर परिक्रमाबाट गरिएको थियो।

अध्यक्ष श्यामकाजी श्रेष्ठले आफ्नो शुभकामना मन्तव्यमा भने —“हाम्रो संस्कृति हाम्रो पहिचान हो। नेपाल सम्बत जस्ता पर्वहरूले मौलिकता र एकताको सन्देश दिन्छन्। यसलाई जोगाउने जिम्मा हाम्रो पुस्ताले लिनुपर्छ। यसको लागि मुलुकभर संगठन विस्तार र कार्यक्रमहरु पनि तर्जुमा भैरहेको छ” कार्यक्रम विशेष अतिथिहरु नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा एवं नेवा: अगुवा ब्रम्हदेव श्रेष्ठले शुभकामना मन्तव्य दिएका थिए  ।

त्यसैगरी व्यवस्थापक कृष्ण श्रेष्ठले भने — “नेवा: समुदाय केवल एक जात होइन, यो नेपालको सांस्कृतिक सम्पदाको आधार हो। हामी सबैले भाषा, कला र परम्पराको संरक्षणमा जोड दिनुपर्छ।”

प्रमुख अतिथि नरेशकुमार ताम्राकारले नेवा: देय दबू केन्द्रीय समितिको तर्फबाट समुदायलाई निरन्तर सहयोग र मार्गदर्शन गर्ने प्रतिबद्धता जनाउँदै भने — “देशभर नेवारी संस्कृति फैलाउन र नयाँ पुस्तामा त्यसप्रति गर्वको भावना जागृत गर्न आवश्यक छ।

साथै सगरमाथा सोलुखुम्बुको कुनै स्थान विशेषको मात्रै नभई सिंगो मुलुकको भएजस्तै नेपाल सम्वत् पनि मुलुकको आफ्नै मौलिक सम्वत् भएको उल्लेख गर्नु भयो” कार्यक्रममा नगरप्रमुख मिठिराम अधिकारीले   भने —“बुढानिलकण्ठ क्षेत्रको सांस्कृतिक विविधता र सह–अस्तित्वको प्रतीकका रूपमा नेपाल सम्बत उत्सवको महत्व अतुलनीय छ।”

तपाइँको प्रतिक्रिया ।