बिना बिल बीजकका सामग्री किनबेच नगर्न प्रहरीको अनुरोध !
कपन अनलाइन
काठमाण्डौ,असोज ६ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले राजधानीमा बिना बिल बीजकका सामग्री किनबेच नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।
मिति २०८२ असोज ७ गते Generation Z (जेनेजी) ले आयोजना गरेको प्रदर्शनका क्रममा सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, व्यावसायिक प्रतिष्ठानलगायत विभिन्न स्थानमा तोडफोड, चोरी र लुटपाट भएका घटनामा प्राप्त समानहरू (जस्तै– सुनचाँदी, विद्युतीय सामग्री, मोबाइल, लत्ता कपडा, कागजात आदि) अवैध रूपमा बिक्री गर्ने सम्भावना रहेको भन्दै प्रहरीले यस्तो सूचना सार्वजनिक गरेको हो।
प्रहरीका अनुसार बिना बिल बीजकका सामग्री खरिद गर्नेलाई समेत कानूनी कारबाही हुने भएकाले त्यस्ता समान खरिद नगर्न सर्वसाधारणलाई आग्रह गरिएको छ। साथै, यससम्बन्धी सूचना पाइए तत्काल नजिकको प्रहरी कार्यालय वा प्रहरी कन्ट्रोल १०० मा जानकारी दिन समेत प्रहरीले अनुरोध गरेको छ।
जिल्ला प्रहरी परिसरका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक अपिलराज बोहराले “बिना बिल बीजकका सामान खरिद बिक्रीमा संलग्न भए कानूनी कारबाही हुन्छ” भन्दै आम नागरिकलाई सतर्क रहन अपील गरेका छन्।
