शङ्का र सङ्कट निवारण गर्ने शंखादेवीबाट देशमा शान्तिको कामना
कपन अनलाइन
काठमाण्डौ,असोज ६ ।
शङ्का र सङ्कट निवारण गर्ने देवीको रूपमा प्रसिद्ध शंखादेवी मन्दिरबाट देशमा शान्ति स्थापना होस भन्ने कामना गरिएको छ । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ८ मा रहेको शंखादेवी मन्दिरमा आज दीप प्रज्वलन, शान्ति पाठ एवं विशेष सङ्कल्प कार्यक्रम भएको हो । चार सय वर्ष भन्दा बढी इतिहास भएको मन्दिरमा शंखादेवी माताको नित्य पूजाको शुभारम्भ समेत गरिएको छ ।
नवरात्रको सुरुवातसँगै शंखादेवी मन्दिर संरक्षण संस्थाले स्थापना गरेको अक्षयकोषको रकमबाट नित्य पूजाको सुरुवात गरिएको संस्थाका अध्यक्ष जयरथ खड्काले बताए ।
नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक एवं श्रीमद्भागवत वाचिका सविना नेपालले अक्षयकोषमा रकम गर्ने २५ भन्दा बढी व्यक्तिहरूलाई सम्मान गरेकी थिइन् । लूभुको महालक्ष्मी र गोदावरीको विशंखुसँग सम्बन्ध जोडिएको शंखादेवीलाई लक्ष्मी र विष्णुको संगमस्थल भन्ने गरिन्छ । विष्णुको शंखको जिम्मा लिएर विष्णुलाई राक्षससँग विजय गराउन माता शंखादेवीको भूमिका रहेको किंवदन्तीका आधारमा यस मन्दिरको महत्त्व उच्च रहेको सीआईएनका प्रमुख दीपक आचार्यले बताए ।
शङ्का र सङ्कट निवारण गर्ने अनि समृद्धि प्रदान गर्ने देवीको रूपमा प्रसिद्ध शंखादेवीको थप प्रचारप्रसारको लागि प्रयत्न भइरहेको मन्दिर संरक्षण संस्थाका उपाध्यक्ष वेदबहादुर खड्काले बताउनुभयो । धार्मिक तथा ऐतिहासिक महत्वका साथै रमणीय प्राकृतिक वातावरणमा रहेको यस मन्दिरको थप प्रचारप्रसार गर्नु आवश्यक छ ।
