म पिएचडी गरेको मान्छे : अंशु भट्ट (निबन्ध)
कपन अनलाइन
काठमाण्डौ,भाद्र ३१।
“म चानेचुने मान्छे हो र ? पिएचडी गरेको मान्छे पो त ।”
मैले आफैलाई ऐनामा निहार्दै, एक मुक्का छातीमा ठोकेर भने । मेरो हिमाल झै ठडिएको शिर, समाजका हरेक नकरात्मक सोच विचारलाई स्वाभिमान र दह्रो स्वरमा खण्डन गर्ने प्रवृर्ती, समाजका हरेक सकारात्मक काममा नेतृत्व गर्दै बढ्ने म, अवश्य नै सामाजिक जिम्मेवारी र आफ्नो कामलाई पहिलो प्राथमिकता दिने म । अमेरिकामा पिएचडी सकेर आफ्नो देश र समाज बदल्न पर्दछ भन्ने सोचाई राखेर हिँडेको मान्छे म । समाजका धेरै युवाहरूलाई स्वरोजगार बन्न र विधार्थी वर्गलाई कसरी विश्वविद्यालयका विधार्थीहरूसँग प्रतिस्पर्धामा सहभागी हुन सकिन्छ ? कसरी आफुआँफुमै राम्रो बन्ने भनेर सिकाउँने म । मेरो बिहानी सुर्योदय भन्दा २, ३ घण्टा पहिले नै हुन्छ र रात घर फर्कदा १० नियमित रूपमा बज्छ । मलाई लाग्दछ मैले आर्जेको अन्तराष्ट्रिय स्तरको शिक्षा र म मा भएको युवा पुस्तालाई उज्वल भविष्य दिने लक्ष्य यिनै भावनाले गर्दा राम्रो तलब पनि हातमा टिक्न पाईरहेको छैन ।
हजुरहरूलाई लाग्दै होला, यसमा के को बखान गर्नुपर्ने कुरा छ र ? हाम्रो समाजका कयौँ स्वंयम सेवी तथा सामाजिक जिम्मेवारी पुरा गर्न निस्वार्थ लागेका दाजुभाईहरू छन् जसले आफ्नै घरको रङ्ग रोकनको हेका राख्न पाएका हुँदैनन् । कहिले त महिनौ घर जान पाउँदैनन् । तर यथार्थ यो हो की “म नारी हूँ ।” दुई सेकेन्डसम्म सहि र सामान्य लागेको मेरो परिचय अब तपाईंहरूको मष्तिस्कमा पक्कै प्रश्न चिन्ह खडा गर्दै छ । घरपरिवारको जिम्मेवारी पनि त पुरा गर्नुपर्छ यसरी घर भन्दा बाहिर समय बिताउने नारी के चरित्रवान र सम्माननीय छन् त ?
मेरी आमालाई घरमा दिनभरी सुत्ने अनि मध्यरातमा स्वास्नी कुट्ने छोराको अन्तरबस्त्र धुन, भाडाँमाझ्न कुनै समस्या छैन तर समयको अभावले जुठोथाल मैले एकदिन के छोडे उनि रिसले मुर्मुरीदैँ सबै आफ्न्तलाई फोन गर्न भ्याइछन् । जुठो भाँडा पनि नपखाल्ने केटीलाई योग्य वर चाँहीयो भन्दै मेरा शुभचिन्तक विज्ञापन गर्दै थिए । मलाई साह्रै चित्त दुख्योे, सोचे पुरातन सोचाई र हुर्काईको कुरा हो जन्मदिने आमालाई के बचनलाई हाल्नु । तर, मेरो मौनतालाई उनले कमजोरी मान्न थालीन, निन्द्राको समय काटेर होस वा आरामको समय मैले छोरीको कर्तव्य पालना गरीरहे तर छोरीमान्छे १४, १५ घण्टा घरबाहिर न समाजलाई पच्यो न आमा बाबुलाई नै । छोरी पनि छोरा समान हुन छोरीको कमाई खाँदा केहि हुदैन भन्ने मेरा बाबु आमाले हिजो छोरालाई बोडिङ्ग र छोरीलाई सरकारी स्कुल पठाएको बिर्सेछन् क्यारे । जिन्दगीभर हरेक कुरामा छोरालाई काखाँ अनि छोरीलाई पाँखा गरेका उनिहरूको आँखामा कमाईमा लाग्ने हक बाहेक अन्यकुरामा कहिल्यै म प्रति माया, विश्वास र संमवेदना रहेन । सोचे घरमा काम गर्ने मानिसलाई राख्छु सायद घरको काम गरिन छोरीले भन्ने कुराको अन्त्य हुन्छ की सायद उमेर पुगेर नै गुनासो आएको होला, मेरो व्यस्तताको हेका नभएरत होईन होला ।
समय बदलियो तर उनिहरूको मनको कालो अझ बाक्लिँदै गयो । धेरै फुर्सदीलो भएर होला अब त म बारीको ठुलो, राम्रो, छिप्पिएको काउँली भएछु । मेरा घरकालाई बेच्न निकै हतार भएछ, राम्रो मुल्यमा खरीद्ने खरीदार नपाएर कयाँै महिना देखी चिन्तामा छन् उनिहरू । घरमा बसेर पाको उमेरमा गुलियो, अमिलो, पिरो विना बिचार गरी चट्कार्ने, दिन बिताउँन दिनभरी अर्काको कुरा काटेर बस्ने, कसैको आत्मालाई जानी जानी चिचोड्ने, मरोड्ने अनि नुन, चुक दल्ने मेरो परिवारलाई लाग्छ उनीहरूको विपी, सुगर, थाइराइड सबको कारण म हुँ । खै कुन्नि ति डाक्टर भनाउँदा उचित आहारविहार र शारीरिक व्यायाम भन्दै अस्पतालमा लाँखौको बिल थमाउँछन्, म यो दुनीयामा भएका सबैलाई मेरो घरका डाक्टरलाई मिल्ने सुझाव दिन चाहाँन्छु । आउँनुहोस् सबै पिडा खुलेर भन्नुहोस्, अर्काको कुरा काट्नुहोस तँपाईको रोग चट्टै निको हुन्छ ।
मेरो सपना थियो—आफ्नो ज्ञानले समाजलाई प्रगतिपथमा अघि बढाउने । तर, समाजको यथार्थ अर्कै थियो । यहाँ पिएचडीभन्दा महत्वपूर्ण हुन्छ —“कति तौलको सुन दिन सकिन्छ ?” जब मैले यस प्रश्नलाई हाँस्दै टार्न खोजे, घरमा हल्ला चल्यो—“लालीगुराँसजस्तो छोरीलाई कोही लिन चाहँदैन, किनभने उसले दाइजो दिन मान्दिन ।” म सोचमग्न हुन्छु—मेरो शिक्षाले मलाई स्वावलम्बी बनायो, तर समाजले मलाई बजारको सामान बनायो । सपनाको संसारमा नयाँ ज्ञानको खोजी गर्न पसेकी म, फर्केर नेपाल आएपछि समाजको ऐना हेर्दा थाहा पाएँ—मेरो डिग्रीभन्दा मेरो उमेरको चिन्ता समाजलाई बढी छ । “बिहे नगरेर के गर्नु ? उमेर त डिग्रीजस्तै गम्भीर भइसक्यो ।” भनी हप्काउने काका काकीको संख्या गणितको क्लासमा पाएको नम्बरजस्तै बढ्दै जान थाल्यो ।
केटाका घरवाला मलाइ हेर्न आउँदा मैले केही नयाँ कुरा सिके । समाजका धेरै परिवारहरूका लागी बुहारी भनेको “कम्पनीको लगानी योजना” जस्तै रहेछ । उनीहरू दाइजोको माग नगरेजस्तो देखाउँछन्, तर अन्त्यमा “नगद, गहना, र गाडी” लिस्टमा थपिहाल्छन् । म सोच्थेँ, यो बिहे हो कि शेयर बजारको कारोबार ? मेरो दाइजोको चर्तिकला यहीँ टुङ्गिएन । एउटा केटाको आमाले यस्तो प्रस्ताव राखिन्, “दाइजो चाहिँदैन, तर सम्बन्ध टुटेमा हाम्रो सम्पत्ति नछुन भनेर कानुनी कागज बनाउँछांै ।” यो सुनिसकेपछि मैले हाँसेर भनेँ, “तपाईंहरूको सोचाइले कस्तो नयाँ प्रकारको व्यावसायिक करार सम्झौताको जन्म गरायो ! यदि यो नै हजुरको प्रस्ताव हो भने मैले हजुरको घरमा गर्ने हरेक कर्तव्य र कामको लिखित तलब पनि वकिल अगाडि राख्नुपर्छ । विडम्बना, समाजले महिला शिक्षित हुनुपर्छ भने पनि दाइजो माग्ने पुरानो मापदण्ड कहिल्यै बद्लिन सकेन ।”
केटा भेट्नका लागि आउँदा मलाई लाग्यो, केटाको परिवार मलाई कुनै बैंकको लोन अफिसर सम्झन्छन् । उनीहरूले सोधिहाल्छन्, “एउटा सर्टिफिकेटले कति सुविधा ल्याउँछ त ?” मैले पनि निकै जोसमा शब्द वाण छोडिहाले समाजका राम्रा भनौँदाको सम्पुर्ण परिवारलाई बुहारी बनाई पाल्ने चेक हातमा पर्छ अब बस बुहारी बनी कुनामा चुपचाप बस्ने परिवारको खोजी बाँकी छ । अनि त्यसपछि सुनिन्छ, “नगद, सुनको गहना, र महँगो गाडी चाहिन्छ ।” मैले त्यसैबेला सोचेँ, “हैन यो विवाह हो कि लगानी योजना ?” त्यसपछि उनिहरूको सम्पत्तिको आंकलन गरेर भने “राम्रो लगानी योजना सुनाउँनु भयो तर २ बर्ष भित्र ४०० प्रतिशत मुनाफा नआउने क्षेत्रमा हात नहाल्ने भाको छु म आजकल ।”
फेरि मैले विनम्र स्वरमा भनेँ, “मैले पिएचडी गरेकी छु, तपाईंहरूको कम्पनीको लेखा मिलाउने काम गरिदिन सक्छु, तर यो घाटाको माग मेरो बसमा छैन ।” उनीहरूले त्यसलाई मेरो ठूलो घमण्ड ठाने ।
“पसलको सोकेसमा बस्दा बस्दै खरिदारको मोलमोलाइले मलाइ कठोर बनाइसकेको थियो ।” मैले पनि घन बजारेरै छोडे, “म झुक्न जान्दिनँ, जङ्गलको राजा सिहं भए पनि सक्कली राजा सिंहिनी हो जसले सिकार गर्छे, हो म त्यहि सिंहिनी हुँ ।” अब यसपछि के ?
मेरो नाम “निर्लज्ज, अंहकारी पिएचडी वाली” भन्दै सबै सामाजमा चर्चित भयो ।
लमी बाजे मेरो चर्को आवाजको विरुद्ध उभिएर आए,
“ए नानी ३० वर्षपछिका केटीलाई कुमार केटो पाईदैन, तिमी जस्ती बुढीकन्याले यस्तो केटो पाउँनु भाग्य होे । २०, २२ का कलिला केटीहरूका बाबु आमा हात जोडेर पछाडि परिरहेका छन् सरकारी जागीरे भन्दै, केटीको कमी छैन उहाँहरूलाई । त्यसमाथि तिमी खुल्ला छाडिएकी गाई, घरबाट त्यति टाढा बसेकी, कस्ले देखेको र सुनेको छ तिम्रो पवित्रता बारे ? आजका सबै केटीहरू अपवित्र र जुठा हुन्छन्, के को घमण्ड गर्दै छौ तिमी ? पिएचडी गरेको भनेर घमण्डले भरीएकी हौली तर तिमी जस्ता पिएचडी गर्ने सयाँै छन् नेपालमै ।”
मैले सहनै सकिन, “निधारमा लामो टिका र टुप्पी पाल्दैमा कोहि माहाज्ञानी, विद्वान् पण्डित हुँदैन बाजे । शास्त्र पल्टाएर हेर्नुहोस मर्यादा पुरुषोत्तम रामले पनि रम्भा, उर्भसीलाई शिर झुकाएर माता भनी प्रणाम गर्छन् । अरुको चरित्रमाथि प्रश्न गरेर, चरित्रहिन बनाउँन सकिन्छ भन्ने भ्रम छ हजुरलाई तर यसको उल्टो हुन्छ । जसले प्रश्न गर्छ, अरुको बारेमा बिना प्रमाण बोल्छ, उ हिजो, आज र भोली सधैँ धोबी नै रहने छ । जहाँ सम्म चरित्रको कुरा छ, यसलाई लुटाउँन गाउँ–ठाउँ नै छोडेर हिँड्नु पर्दैन, हाम्रा गाउँका घेरै अग्रजहरूलाई नबिर्सिनु होला जुत्ता चप्पल र प्रहरी चौकीको कथाहरू छरपष्ट छन्, चरीत्र बेच्न ५ मिनेट अरुको आँखाछले पुग्छ भनेर प्रमाणित गर्न । माफ गर्नुहोस् चरित्रवान मानिस आफ्नो चरित्रमा सात समुन्द्र पार नै किन नगरोस, रावण जस्तो राक्षसको कैदमा किन नहोस चरित्रवान नै रहन्छ । अनि राम्रोसँग याद राख्नुहोस् मेरो चरित्रमा हिसाब किताब गर्ने हजुर को ? यो अधिकार बिना ठोस प्रमाण न मेरो अभिभावक, न त जीवनसाथी, न त स्वयम श्रिराम कसैलाई पनि अधिकार छैन, किनकी स्त्रीको चरित्रको मापन केवल उसको हातमा हुन्छ, अवश्य नै नैतिक नियम र जीवनसाथीसँग प्रतिबन्ध जीवन आवश्यक छ । तर, बिना कारण समाजको कुनै व्यक्तिले उसको चरित्रमा औँला उठाउन पाउँने छैन मानसिक तनाब र बेइज्जती गर्न पाइने छैन, यो कानुनी रुपमा मात्र नभई धार्मिक रुपमा नी दण्डित छ ।”
केटा – “सहि भन्थे पढेका त सडेका भनेर हजुरबुबाहरूले, आज प्रत्यक्ष देखियो यतिसम्म अपमानित र अभद्र व्यवहार । ठुलालाई सम्मान भन्नेकुरा सिकाउन बिर्सीनु भएछ काका काकी । हामीलाई यस्तो केटी चाहिएन माफ गर्नुहोला ।”
म – “सहि भन्यौ तिमीले तर जो सनातन धर्मको सम्म इज्जत गर्न सक्दैन । नारी चाहे आमा, दिदीबहिनी वा छोरी जुन रुपमा भएनि देवी तुल्य हुन भनी सम्मान गर्न सक्दैन । शिक्षीत हुनुको ढोङ्गमा नारी पुरुषको समानता आर्थिक आर्जनको लालचमा मात्र गर्छन्, ति पुरुषहरू कुनै हालतमा मेरो योग्य छैनन् । तिमी भन्छौ नी तिमी पढेलेखेका पुरुष हौँ ा तर तिमी एक पाखण्डी पुरुष हौ, हरेक कागजी खोस्टोको झोला बोक्ने मान्छे शिक्षीत हुन्छ भन्ने हुँदैन । शिक्षीत हुनलाई आफुले आर्जेको शिक्षालाई यथार्थमा परिवर्तन गर्ने व्यक्तित्व हुनुपर्छ । महिनाको दुई चारवटा नोट घरमा ल्याएर घमण्ड गर्ने तिमीहरू न त आफ्नो कपडा धुने ढंग छ, न खाना खाँदा पोखिएको भातको सिता टिप्ने । वास्तवमा तिमीहरू कमजोर छौ, किनकी तिमीहरू स्त्रीको साहारा बिना एकपल रहन सक्दैनौँ । हेर एकफेर यहाँ कयौँ महिला छन् जो पुरुषबिना आफ्नो जीबन सहजै यापन गर्न सक्छन् । तिमी त्यो पुरुष हौ जो शिक्षीत भएर पनि आफ्नै आमालाई सम्म सम्मान दिन सक्दैनौ, यौवनले फक्रिएकी श्रीमतीलाई हेरी आमाको कुरुपताको बखान त्यहि आमाले बनाएर ल्याएको चियाको सुर्को सँग गर्छौ । लैङ्गिक विभेदको पिरमा परेका आफ्नै दिदी बहिनीलाई सम्मान साथ स्वतन्त्र उडान दिन सक्दैनौ । अझै पनि तिमीलाई नारी बजारमा पाईने वस्तु लाग्छ र तिमी दाईजो प्रथालाई चलनको नाममा अगाडि बढाउँछौ । सहि हो, पारपाचुके पछि केटाको सम्पति अंशको नाममा नराम्रोसँग सकिन्छ तर यहाँ कयाँै नारीहरू छन् जो पुरुषले भन्दा बढी कमाउँछन्, घरको हरेक जिम्मेवारी बिना कुनै विरोध पुरा गर्छन्, तर पनि आखिरमा आफुभन्दा बढि सफलता प्राप्त गर्ने महिलाको हरेक अप्ठ्यारो बाटोमा सहयोग त छोड खुशीसम्म हुन सक्दैनौ तिमीहरू । तिमीहरूलाई साङ्ला देखेर डराउँने महिलाहरूको खिस्सी गर्न खुब रमाईलो लाग्छ तर सिंहमार्ने हिम्मतवाली नारीको सरहाना गर्ने सामथ्र्य छैन तिमीहरूमा ।”
“कसैको अगाडि झुकेर म बस्दिन, म आफ्नै सघंर्षमा आत्मसम्मानको बाटो हिडेको मान्छे । म घमण्डी छु , अश्लिल छु वास्तवमा यो समाजको लागि अपच्य छु तर पनि घमण्ड साथ गगनलाई सधैँ हिमालले छोएझै मेरो शिर उठाईरहने छु । सहि भन्यौ हाम्रो सम्बन्ध सम्भब छैन र मैले हासिल गरेको शिक्षाको अभिमान मेरो लागि मात्र होइन म जस्ता लाखौँ महिलाको लागी प्रेरणा हो, पथचिन्ह हो, त्यसैले अघोषित दाईजो प्रथामा यँहा विवाह सम्भव छैन । यहाँ प्रश्न मेरो खर्च गर्ने औकातको होइन, न त मेरो कन्जुस्याइँको, प्रश्न हो सहि उदाहरणको, म विवाहमा लाखौँ खर्च गरेर बेचिनुको साटो अनाथ बालबालिकालाई निःशुल्क शिक्षा दिन चाहान्छु, आवस्यकतामा खर्च गर्न चाहान्छु केबल यति मात्र होइन, यस्तो कुरीतीकोे फाइदा उठाउँने तिमी जस्तालाई कानुनी कठघरामा उभ्याउने साहस राख्छु ।”
मेरो जीवनको हर परीक्षा, चाहे त्यो पिएचडीको थेसिस होस् वा बिहेको प्रस्ताव, एउटै प्रश्नको वरिपरि घुम्छ— “के म सही बाटो मा छु ?” अनि म जवाफ खोज्छु । बिहेको प्रस्ताव ल्याउने घरका मानिसहरूसँग मेरो डिग्रीको कुनै अर्थ छैन, छ त केबल बुहारी सगैँ भित्रिने सम्पतिको हिसाब । उनीहरूको पहिलो प्रस्ताव— यती पढेलेखेकी रहीछन, हामीलाई केहि चाहिदैन, मात्र हाम्रो इज्जत ढाकीदिनु होला ।
खुशि हँुदै मेरा बुबा आमा सोध्छन, भैइहाल्छ नी ! के के गर्नुपर्छ भन्नुहोस न ? अनि सुरु हुन्छ इज्जत ढाकी दिने लामै दाइजो पुराण ।
जब मैले आत्मसम्मानको झण्डा फर्फराउँदै “हाम्रो परिवारमा दाइजो दिने चलन छैन ।” भन्छु, तब उनीहरूका अनुहारमा नायकभन्दा खलनायकको भाव झल्कन्छ ।
मेरो शिक्षाको महत्व बुझ्नुभन्दा पहिला मलाई समाजले नारीहुनुको कमजोरी बतायो । “पिएचडी गरेर के हुन्छ र ? बच्चा जन्माउने त उही महिलाहरू हो ।” भन्दै समाजका ठूलाबडा आउन थाले । मैले जवाफ फर्काएँ, “हो त, बच्चा त जन्माउने हो, तर मैले मेरो बच्चाको नाम राख्ने अधिकार लिनेछु, नाम ‘स्वाभिमान’ राख्नेछु र मेरो बच्चाले स्वभिमानी र स्वतन्त्र जीवन यापन गर्ने छ । मेरो सपना हुनेछ मेरो बच्चामा यो समाजको कुण्ठित सोचको कुनै छाँया पर्ने छैन ।”
जब मैले बच्चैदेखि सँगै पढेका साथीहरूलाई सम्झिन्छु, तीमध्ये धेरैले पढाइ छाडेर बिहेको तयारी गरे । तर मैले आफैँलाई भित्रभित्रै प्रश्न गरें—“शिक्षा किन लिने ?” समाजले जवाफ दिएको थियो—“स्तरीय अब्बल दर्जाको केटा खोज्न ।” तर, म बुझ्छु — स्तरीय केटा खोज्नुको अर्थ शिक्षामा होइन, दाइजोको परिमाणमा आधारित छ । समाजले मलाई पढाइदियो, तर मेरो मूल्यांकन बैंकको एफडिओमा आधारित रह्यो ।
जब म पुस्तकालयमा १२ घण्टा बसेर अनुसन्धान गरिरहेकी हुन्थे, समाजले मलाई ‘पढन्ते केटी’ भन्थ्यो । अब, जब म पिएचडी लिएर फर्के, त्यही समाजले मलाई ‘घरबार बिगार्ने केटी’ भन्न सुरु ग¥यो । मलाई लाग्छ—मेरो डिग्री मेरो आत्मसम्मान हो, तर समाजका लागि यो डिग्री केवल एउटा प्रश्नचिन्ह हो । समाजले भन्यो—“बिहे केबल तिम्रो लागि होइन, हाम्रो इज्जत बचाउन पनि गर्नुपर्छ ।” मैले उत्तर दिएँ—“मेरो इज्जत मेरो शिक्षा हो ।” मैले सोचेँ—यदि दाइजो दिने चलनलाई नकार्ने सामथ्र्य राख्न सकिनँ भने मेरो पिएचडी व्यर्थ हुने छ । म समाजलाई यही प्रश्न सोध्न चाहन्छु—“कुन ठूलो—मेरो आत्मसम्मान कि तिमीले बनाएको दाइजोको चलन ?”
हाँस्यको कुरा त के भने, समानताको बखान गर्ने समाजले महिलाको योग्यतामा चिया बनाउन जान्छे कि जान्दिन’ जस्तो सर्टिफिकेट खोज्छ । तर, पुरुषले त भान्साको ढोकासम्म कसरी खोल्नुपर्छ, त्यो पनि थाहा पाउँदैन । यो सबै अवस्थाले मलाई थकित बनायो । म आफैँलाई सोध्न थालेँ, “यत्रो पढाइ किन गरियो त ? दाइजोको सर्टिफिकेट ल्याउन ?”
मेरो कमाई ठिकठिकै छ १,२ बर्षमा आफ्नै घर बनाएर यहि समाजमा बसेर काम गर्छु के भनेकोे थिए, भाउँजुको मुख सुर्यमुखी झै ओईलीहाल्यो । बुबा र दाजुले त अझ गज्जब गरेका छन् । उनीहरू भन्छन्, “तेरो कमाइमा हाम्रो अधिकार छ, तेरो बिहे नगरेसम्म हामी चलाउँछौँ । बिहे भएपछि लोग्नेको अधिकार हुन्छ ।”
छोरीलाई पढाउनुको अर्थ सानो १० –५ को जागीर गर्न र राम्रो केटो हेरेर विबाह गरीदिने अभिप्राय थियो हाम्रो । अब जति नै पढेपनि, बिबाह गर्ने र संस्कारी बुहारी बन्ने प्रथम प्राथमिकता हो हरेक नारीको । मन जितेर घरको हर जिम्मेवारी पुरा गरेर सबैलाई सन्तुष्ट पारेर मात्र उनिहरूको अनुमति लिएर उनिहरूले रुचाएको जागीर गर्नु नै एउटा सभ्य नारीको पहिचान हो । मन पराएको जागीर, मनपराएको कम्पनी, सरुवा र बढुवा यो केटाहरूको लागि हो । केटीको छिटो छिटो बढुवा, नयाँ –नयाँ ठाउँमा सरुवा, सहकर्मीसँगको लिफ्ट, अफिस समयपछिको काम जति नै योग्यता भएपनि निन्दनीय छ । यस्तो लाग्छ, म जिन्दगीभरि पैसाको एटीएम बनेर बस्नुपर्ने मान्छे । मलाई ‘आत्मनिर्भर’ भन्ने उपाधि त प्राप्त भयो, तर ‘आत्मसम्मान’ पाउने बाटो अझै टाढा छ ।
त्यसपछि ममा शहन शक्तिनै कहाँ रह्यो र लाग्यो कोहि शिक्षीत पुरुष त होलान् यो समाजमा जोसँग मैले मेरै संविधानले दिएको स्वतन्त्रताको हक माग्नलाई मानसिक तनाबबाट उत्पिडित हुनु नपरोस् । तर भनिन्छ नि जुन जोगी आएनी कानै चिरेका, जति पनि मैहुँ भन्ने केटाहरू आए, मास्टर्स, पिएचडी, सरकारमा सम्मानित पद तर तिनीहरूमा मेरै बाबु र दाईको प्रतिबीम्ब छल्कीरह्यो । सबै सबै कागजी शिक्षित मान्छेहरू रहेछन् नेपालमा जो सर्टिफिकेट प्रदशनीबाटै एजुकेटेड भएका रहेछन् ।
म सोच्छु, पिएचडीले मलाई बुद्धिजीवी बनायो तर बिहे नगर्दा समाजले मलाई ‘अकल्याणकारी’ ठहरायो । अब म थाके परिवारमा र शिक्षीत केटाको खोजीमा, मैले ठहर गरेँ, “अब कुनै समस्या छैन, मेरो पढाईलाई फुर्सदमा ‘पैसाको पेन्सिल’ बनाउँछु ।” आजबाट म यो समाजमा एकल नारी बनेर बाँच्ने प्रतिबद्धतामा छु । स्वाभिमानका साथ काम गरेर आफ्नै घर बनाउने उद्देश्य लिएर परीवारबाट टाडा शान्त वातावरणमा कोठालिई बस्ने र आफ्नो कर्मक्षेत्र बनाउँने निर्णय लिएँ ।
जिन्दगीको गोरेटोमा हिँड्दै गर्दा समानता, स्वतन्त्रता, सम्मान, बिश्वास र प्रेमको उपहार लिएर कोही जीवन साथी बन्न आए विबाह गरी सुखी दाम्पत्य जीवनको सुरुवात गर्ने नभए एक दुई अनाथ बच्चाहरूलाई धर्मपुत्र धर्मपुत्री बनाउने वा सरोगेसीबाट मातूत्वको सुखभोग गर्ने । अब प्रश्न यति मात्र छ, के यो समाजले मलाई विना प्रमाण चरित्रमा दाग लगाउने छ या छैन ? सती प्रथाको अन्त्य त भयो तर एउटा नारीको चरित्रको हत्या अझै हुन्छ या हुँदैन ? कतै मैले समाजको नकारात्मक विचारधारामा आफ्नो स्वाभिमानको मुल्य चुकाउनु त पर्दैन वा अर्को सभ्य समाजको सुरुवातको ईँटा बनी सम्पूर्ण नारीहरूमा छाँउने छु ?
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
