लोकतन्त्रको विकल्प अझै उन्नत लोकतन्त्र : ठमिन्द्र खतिवडा
कपन अनलाइन
काठमाण्डौ,भाद्र २६।
सामजिक सन्जालको बन्दको बिरोध, भ्रष्टाचार निवारण,सुशासन र स्थिर सरकारको माग सहित सडकमा उत्रिएको जेनजीले देशभर गरेको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा भाद्र २५राति सम्ममा २५ जनाको दुःखद निधन भएको र ६ सय भन्दा बढी घाइते भएको घटनाले सिङ्गो मुलुक मर्माहत बनेको छ भने सम्पूर्ण नेपाली समाजको एउटा नमेटिने घाउ बनेकोछ।यो एक घटनामात्र होइन, यसले नेपालको लोकतान्त्रिक अभ्यास र भविष्यप्रतिको आस्थानै हल्लाइ दिएकोछ।
प्रधानमन्त्रीले नैतिक जिम्मेवारी स्वरूप राजीनामा दिइसकेपछि पनि आन्दोलन निरन्तर लम्बिँदा अराजकतत्वहरूको प्रवेशले राष्ट्रिय संरचना माथि ठूलोआक्रमण भयो।संघीय संसद भवन, राष्ट्रपति भवन, ऐतिहासिक सिंहदरबार, सर्वोच्च अदालत, महान्यायाधिवक्ताको कार्यालय, प्रहरी कार्यालय जस्ता संवेदनशील संरचना मात्र होइन, प्रदेश तथा स्थानीय तहका कार्यालय, निजी व्यापारिक सम्पत्ति, अभिलेख र दुर्लभ दस्तावेजहरू समेत जलाइए वा नष्ट गरिए।जेल फुटाइ १३ हजा र ५ सय७२ कैदीबन्दी भागे।यती ठुलो सङ्ख्यामा कैदीबन्दी समाजमा मिसिनुले सुरक्षा संकट झनै गहिरो बनेकोछ।
अहिले युवाहरू सडकमा उत्रनु कुनै आकस्मिक वा क्षणिक उत्तेजनाको परिणाम मात्र होइन, यो लामो समयदेखि संचित असन्तुष्टि र निराशाको अभिव्यक्ति हो।आजको युवापुस्ताले भोगिरहेको समस्या बहुआयामिक छन्।बढ्दो महँगीले दिनचर्यालाई कठिन बनाएको छ, बेरोजगारीले लाखौँ युवालाई भविष्य विहीन बनाइरहेकोछ, व्यापक भ्रष्टाचारले राज्यप्रति नागरिकको विश्वास क्षीण पारेकोछ; र नेताहरूको स्वार्थ केन्द्रित राजनीति तथा शासन व्यवस्थामा बिचौलियाको वर्चस्वले जनतामा असहायता र असन्तुष्टिको भावना बढाएकोछ।यही कारणले युवाहरूले सडकलाई आफ्नोअन्तिम विकल्पका रूपमा रोजेका छन्।
तर यस्ता चुनौतीहरूको समाधान हिंसा वा विनाशकारी आन्दोलनबाट खोज्नु दीर्घकालीन दृष्टिले मुलुकलाईअझ गहिरो संकटतर्फधकेल्ने कार्यमात्र भएकोछ।इतिहासले देखाएको छ। हिंसात्मक संघर्षले संरचनागत समस्याको समाधान गर्न सक्दैन, बरु अझ जटिल संकटहरू जन्माउँछ।त्यसैले, समाधानको सहीबाटो भनेको राजनीतिक दलहरूले आत्ममूल्यांकन गर्दै सुधारका ठोस कदम चाल्नु, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राख्नु र लोकतान्त्रिक अभ्यासलाई निरन्तर सबलीकरण गर्नुहो।दलहरूले जनता प्रति जिम्मेवार नबनी स्वार्थ र शक्तिको खेलमा मात्र रमाइरहे लोकतन्त्र कमजोर हुँदै जान्छ, जसले अन्ततःव्यवस्था माथिनै प्रश्न खडा गर्नसक्छ।
लोकतन्त्रले जनतालाई बोल्ने, लेख्ने, सडकबाट जायज माग राख्ने अधिकार दिएको छ।तर जब जनताको स्वरलाई बन्दुकको गोलीले दबाइन्छ, तब लोकतन्त्रको मूल्य कमजोर हुन्छ।युवाहरूले उठाएका प्रश्नहरूलाई शत्रु होइन, उत्तर दिनुपर्ने चुनौतीका रूपमा लिनुपर्छ।यही सन्दर्भमा लोकतन्त्रको विकल्प राजतन्त्र वा अरु कुनैपनि तन्त्र हुनसक्दैन भन्ने कुरा पुनःस्पष्टगर्न आवश्यकछ।नेपालमा राजतन्त्रले विगतमा जनताको आकांक्षालाई थिचेको तथ्य इतिहासले पटकपटक प्रमाणित गरि सकेको छ।त्यसैले लोकतन्त्रको विकल्प भनेकोअझ सबल, परिमार्जि तर उन्नत लोकतन्त्र हो—जहाँ जाति, वर्ग, लिङ्ग वा क्षेत्रीय भिन्नताको आधारमा नागरिकलाई विभाजन गरिनेछैन, सबैलाई समान अवसर र सम्मानको ग्यारेन्टी हुनेछ र राज्यका संरचना तथा निकायहरू वास्तवमै जनताको सेवा र सुशासनमा केन्द्रित हुनेछन्।
उन्नत लोकतन्त्र भन्नाले केवल निर्वाचन गर्ने प्रणालीमात्र होइन, बरु समाजको हरेक तहमा समावेशी सहभागिता, पारदर्शिता, न्याय र अवसरको समानवितरण सुनिश्चित हुने अवस्था हो।जब नागरिकले राज्यलाई निष्पक्ष, जवाफदेही र संवेदनशील महसुस गर्छन्, तबमात्र व्यवस्था प्रति विश्वास र समर्थन बढ्छ।
यसरी भन्न सकिन्छकि नेपालका वर्तमान चुनौतीहरूको समाधान नयाँ व्यवस्थाको खोजी होइन, विद्यमान लोकतन्त्रलाई अझ सबल, जिम्मेवार र परिणाममुखी बनाउनु हो।यही बाटोले मात्र युवाहरूको असन्तुष्टि कम गर्नसक्छ, जनतामा आशा जगाउन सक्छ र मुलुकलाई स्थिरता तथा समृद्धितर्फअघि बढाउन सक्छ।
त्यसैले अहिलेको परिसथितिमा राष्ट्रपतिले देशलाई लामो राजनीतिक रिक्ततामा नराखी, दवाव र स्वार्थभन्दा माथिउठेर, संविधान र लोकतान्त्रिक प्रक्रिया भित्रै रहि, शान्तिपूर्ण संवाद मार्फत जेन जेनरेशनका आकांक्षालाई सम्बोधन गर्न सक्षम र परिपक्व अन्तरिम सरकार यथाशीघ्र गठन गर्नुपर्दछ, जसले देशमा नयाँ चुनाव गराउनेछ।यो अन्तरिम सरकारको काम भनेको चुनाव गराउने,देशलाई नयाँ जनादेश दिने हुनेछ।।योजना देशबाट बनेको सरकारले लोकतन्त्रलाई सुधारेर, परिमार्जन गरेर, उन्नत बनाउनुनै नेपालको स्थिरता र समृद्धिको मूलबाटो हो।
