मुक्तक : अरुण कुमार भुजेल

मुक्तक : अरुण कुमार भुजेल

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २२।

दिग्भ्रमित पार्न कहिले त भ्रम छर्छन् मान्छे
स्वार्थ लुट्ने उद्देश्यले चाप्लुसी गर्छन् मान्छे
मर्दा रित्तो हातजाने कुरा थाहाहुँदाहुँदै
अरूको हक मारेर आफ्नै गोजी भर्छन् मान्छे ।

मेरा कतिपय चाहनाहरू त्यतिकै मारेको छु
सफलताका शुभकामना तिमीतिरै सारेको छु
विश्वास गर या नगर तिम्रै अधिकार हो प्रिया
तिम्रो विजयखातिर जानीजानी हारेको छु ।
एकै क्षणमा दर्कन्छ पानी तुरन्तै चर्कन्छ घाम
मौसम अनुसार पहिले जस्तैगरि चल्दैन याम
संरक्षण सम्बद्र्धन नगरेर प्राकृतिक सम्पदाको
वनजङ्गल सबै मासी कमाउन खोजेपछि दाम ।

हुन सक्ने सहयोग नगरीकन परपर तर्कनु हुन्न
मधुर वचनले काम बन्छ भने व्यर्थ झर्कनु हुन्न
हातेमालोले चल्छ जीवन हातमाहात मिलाऊ
एकार्कामा वैरभावको सुनपानी छर्कनु हुन्न ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।