कवि बिसुकुमार के.सी. भन्छन,`पागल हुन कहाँ सजिलो छ र’
कपन अनलाइन
काठमाण्डौ ,भाद्र १४।
बुढानिलकण्ठ नगरपालिका वडा नं ११ निवासी कवि बिसुकुमार के.सी. को कविता सङ्ग्रह `पागल हुन कहाँ सजिलो छ र’ सार्वजनिक गरिएको छ।
नेपाली कांग्रेसका महामन्त्री तथा काठमाण्डौ क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य गगन कुमार थापाको प्रमुख आतिथ्यता र शिखा बुक्स, प्रकाशक पुष्प पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उक्त कविता संग्रह सार्वजनिक गरिएको हो। उक्त संग्रहका कविताहरु माथि डा. नवराज लम्साल र सुशिला पौडेलले टिप्पणी गरेका थिए।
डिल्लीराम सुवेदी ,सोझो गाउँले, उपमा केसी भट्टराई र ज्ञानेन्द्र देउजाले नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा सार्वजनिक भएको उक्त संग्रहका कविता वाचन गरेका थिए भने वियोगी बुढाथोकी र शंकर कोइरालाले शुभकामना मन्तव्य राखेका थिए।
शिखा बुक्सले प्रकाशन गरेको संग्रहका कविताहरुलाई विषय, भाव र प्रस्तुतिका आधारमा `जिन्दगी र जिन्दगीहरु’, `प्रकृति र परिवेश’, `समय र सन्दर्भ’ `समाज र सास्ती’, `आफु र आफन्तहरु’, `माया र मनहरु’, आदि ६ भागमा विभाजन गरिएको छ।
निजामति सेवाको सहसचिव तहबाट अवकाश प्राप्त कवि बिसुकुमार के.सी हाल बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालको अध्यक्ष एवम् नेपाली लेखक सङ्घको कोषाध्यक्षका रुपमा क्रियाशिल रहेका छन ।
स्थानीयस्तरमा साहित्यकार तथा समाजसेवीको छवी बनाएका केसीको सक्रियता काठमाण्डौ क्षेत्र नं ४ को राजनीतिक क्षेत्रमा पनि रहेको छ।

