बाइरोडको कालो रात : सपना लामिछाने (देउजा)

बाइरोडको कालो रात : सपना लामिछाने (देउजा)

कपन अनलाइन

काठमाडौं , भाद्र ७।

माघको पहिलो शनिबार । अतिशय चिसोको समय । त्यसमाथि पनि अघिल्लो दिनदेखि परेको बेमौसमी वर्षाले काठमाडौँको वातावरण थप दयनीय बन्न पुगेको थियो । अफिसको मिटिङमा सहभागिता जनाउन रमेशलाई एक दिनका लागि जसरी पनि नारायणघाट पुग्नु थियो । जाडो अत्याधिक बढेको भए पनि एकरात मात्र बस्ने भएको हुँदा रमेशले खासै तयारी गरेको थिएन । राती फेर्नका लागि एकजोर कपडा, ब्रस, मन्जन र एउटा सानो टावेल झोलामा हालेर रमेश बिहानै कलंकीतर्फ लम्कियो ।

सडकमा मान्छेहरूको चहलपहल खासै थिएन। गाडीहरू पनि धेरै चलेका थिएनन् । चिसोका कारण सडकमा हिँडेका मानिसहरूको मनोदशा टिठलाग्दो देखिन्थ्यो । सडकमा मानिसहरूको यस्तै अवस्था नियाल्दै केही बेरको पैदल हिँडाइपछि रमेश कलंकी पुग्यो । कलंकी पुगेको करिब दस मिनेटपछि नारायणघाट जाने बस उसकै अगाडि आएर रोकियो । बसका धेरै सिटहरू बसपार्कबाट नै भरिएर आएको थियो । अधिकांश सिटहरू भरिएका भए पनि बस चढ्न खोज्ने यात्रुहरूको संख्यामा कमी थिएन । यात्रुहरू क्रमशः बसको ढोकातर्फ लाग्दै थिए ।

रमेश पनि अन्य यात्रुसँगै बसको ढोकातर्फ लाग्यो । बसमा चढेका धेरै यात्रुहरूले टिकट लिएका थिएनन् । त्यसैले होला उनीहरू सीट पाउनको लागि हानाथाप गरिरहेका थिए । तर, रमेशले भने पहिला नै आफ्नो लागि टिकट बुक गरिसकेको थियो । उसलाई कुनै समस्या थिएन । रमेश टिकटमा दिइएको अनुसार सात नम्बर सिटमा गएर बस्यो ।

बसका सिटहरू प्रायः सबै भरिइसकेका थिए । तथापि कन्डक्टर झ्याप झ्याप झ्याप झ्याप गरेर बसमा यात्रु थप्न अझै उद्दत थियो । निर्धारित समयभन्दा केही ढिलोगरि बस कलंकीबाट नागढुङ्गातर्फ अगाडि बढ्यो । नागढुङ्गासम्म पुग्दा केही मान्छे ओर्लने र केही मान्छे उक्लने क्रम चलिरहेको थियो । बस काठमाडौँको सिमाना नाघेर धादिङतर्फ ओरालो लाग्यो । रमेश सँगैको आठ नम्बर सिटमा करिब पच्चीस छब्बीस वर्षकी एक युवती थिइन् । सामान्य पातलो शरीर, गहुँगोरो वर्ण, कालो रेशमीदार कपाल, पहेँलो कुर्ता लगाएकी । झट्ट हेर्दा युवती राम्रै थिइन् । केही बेर रमेशले युवतीलाई छड्के नजरले हेरिमात्र रह्यो । युवती भने आफ्नै तालमा थिइन् । रमेशले आफूलाई हेरिरहेको कुरा उनलाई थाहा थिएन । नेपालको सडक न हो अबस्था अझैसम्म सुध्रिएको थिएन ।

रमेश पहिला नारायणघाट जाँदा बाटोको अवस्था जस्तो थियो, अहिले पनि त्यस्तै थियो । सडकको निर्माण कार्य चलिरहेको थियो । मर्मत गर्न थालेको लामो समय भए पनि सडकमा खाल्डाखुल्डी उस्तै थियो । जसले गर्दा बस अत्याधिक हल्लिरहेको थियो । बस हल्लिँदा कहिले रमेशले युवतीलाई त कहिले युवतीले रमेशलाई धक्का दिने गर्थे । त्यसरी धक्का दिँदा दुवैले आफूलाई सम्हाल्ने प्रयत्न गर्थे र एकले अर्कोसँग माफी पनि माग्थे । बस धार्के पुग्दासम्म रमेश र युवतीको औपचारिक रूपमा बोलचाल भएको थिएन ।

सायद दुवैलाई अपरिचित मान्छेसँग बोल्न अप्ठ्यारो महसुस भएर पनि होला । उनीहरूको अप्ठ्यारोलाई बाटोले सजिलो गरिदियो । बाटोको प्रंसग उठाउदै कुराकानीको थालनी रमेश आफैँले ग¥यो । एउटै सिटमा भएकाले रमेशर युवतीलाई कुराकानी गर्न सहज पनि थियो । ती युवती एउटा कामको सिलसिलामा हेटौँडा जान लागेकी रहिछन् । उनको नाम सम्झना थियो । यात्राको क्रमसँगै उनीहरूबीचको कुराकानीले पनि निरन्तरता पाउन थाल्यो । कुराकानीकै सिलसिलामा सम्झनाले आफू काठमाडौँमा एउटा सानो पसल खोलेर बस्दै आएको कुरा बताइन् ।

सम्झना विवाहित थिइन् । विवाह भए पनि उनी काठमाडौँमा एक्लै बस्थिन् । उनको कुनै सन्तान भएको थिएन । केही समय अघिमात्र उनका श्रीमानसँग डिभोर्स भएको थियो । यति कुरा सम्झनाको बारेमा थाहा पाएपछि रमेश केही भावुक जस्तो देखियो । साँच्चै सम्झनाको अवस्था सहानुभूति योग्य थियो । उनीहरूको आपसी सम्वादले एउटा बेग्लै मोड लिइरहेको थियो । आपसमा कुराकानी गर्दागर्दै बस मलेखु कटेर मुग्लिनतिर हुँइकिन थाल्यो । रमेशले आफ्नो सिट वरिपरि दृष्टि फाल्यो । बसभित्रका अन्य यात्रुहरू पनि विविध प्रसंग उठाएर गफ्फिन व्यस्त थिए । कसैलाई कसैको कुनै प्रवाह थिएन । सायद बसका यात्रीहरूको नियति नै होला यो । रमेशले आफूलाई विश्वस्त तुल्यायो । मुग्लिन पुग्नु केही अगाडि अचानक माथिबाट पहिरो खसेको जस्तो डरलाग्दो आवाज आयो ।

बसमा भएका सबै यात्रुहरू चिच्याएर कराउन थाले । त्यो डरलाग्दो आवाज अरु केही नभएर पहिरो नै हो भन्ने निश्चय रमेशले गरिसकेको थियो । यत्तिकैमा माथिबाट आएको ठुलो पहिरो बसकै अगाडि आएर खस्यो । धन्न पहिरोले बसलाई पुरेन । बसका सबै यात्रुले त्रासमै भए पनि शान्तिको महसुस गरे । पहिरोबाट सुरक्षित भएकोमा सबैले ईश्वरलाई धन्यवाद दिए । रमेश र सम्झनाले पनि ईश्वर सम्झिए । भित्रभित्रै ईश्वरप्रति कृतज्ञ भए । वर्षाको समय नभए पनि सिमसिम पानी परिरहेको थियो । तत्काल बाटो खोलेर बस अगाडि बढाउने सम्भावना थिएन । भित्र भएका सबै यात्रुहरू बसबाट बाहिर निस्किए । अझै पनि माथिबाट पहिरो झरिरहेको थियो ।

केही बेरपछि प्रहरीको एक टोली घटनास्थलमा आइपुग्यो । रातको समय, कम भिजिबिलिटी र पर्याप्त स्रोतसाधनको अभाव आदि कारणले गर्दा तत्काल बाटोको अवरोध हटाउन कठिन थियो । प्रहरीले पनि तत्काल बाटो खोल्न नसक्ने ठहर ग¥यो । जसले गर्दा त्यसै क्षेत्रमा रात बिताउनुको विकल्प यात्रुसँग थिएन । सबैजना बास बस्नको लागि आआफ्नो झोला बोकेर होटेल खोज्नतिर लागे । रमेश पनि आफ्नो झोला बोकेर होटेल भएको स्थानतर्फ गयो । रातको समय बाटोको अवरोध र यात्रुहरूको भिडभाडका कारण राम्रो होटेल पाउने कुरामा रमेश सशंकित थियो । मनमा अनेक प्रकारका कुराहरू खेलाउँदै रमेश एउटा होटलमा पुग्यो । उक्त होटलमा अन्य यात्रुहरूसँगै सम्झना पनि पुगिसकेकी थिइन् ।

काठमाडौँको तुलनामा यहाँको वातावरण अझै चिसो थियो । चिसो अत्याधिक भएको अनुभूति सबैले गरेका थिए । सम्झना होटेलको कुनातिर रहेको एउटा कुर्सीमा लुगलुग काम्दै बसेकी थिइन् । सम्झनाको अवस्था देखेर रमेश बिलखबन्दमा प¥यो । के गर्ने कसो गर्ने, सम्झनालाई कसरी सहयोग गर्ने रमेशले केही भेउ पाएन ऊ सम्झनालाई हेरेर मौन बस्यो । उसको मौनता भंग गर्ने कोसिस गर्दै अलिक परैबाट सम्झनाले भनिन्– ’के भयो, यसरी एकोहोरो के हेर्नुभएको ? सञ्चो भएन कि के हो ? सम्झनाको प्रश्न सुनेर रमेशले आफूलाई सम्हाल्ने प्रयत्न गर्दै भन्यो, खास केही भएको छैन । म आज जसरी पनि नारायणघाट पुग्नु थियो । एउटा जरुरी मिटिङमा सहभागी हुन आएको थिएँ । पहिरोले मेरो सबै योजना चकनाचुर बनायो । रमेशको यस्तो पिडामिश्रित कुरा सुनेर सम्झना भावुक बन्न पुगिन् र उनले भनिन्, जे हुनु थियो, भयो, अब चिन्ता गरेर केही फाइदा छैन ।

आजको काम अब भोलि गर्ने । सम्झनाले भनेजस्तो रमेशलाई सजिलो थिएन । किनभने भोलिपल्ट रमेशको छोराछोरीको स्कुलमा प्यारेन्ट्स मिटिङ थियो । जुन मिटिङमा रमेश जसरी पनि पुग्नुपथ्र्यो । अन्यथा उसले छोराछोरी र श्रीमतीको राम्रै गाली खानुपथ्र्यो । मनमा एक प्रकारको डर बोकेर रमेशले सादा खाना खायो । सम्झना पनि उसकै अगाडि टेबुलमा बसेर खाना खादै थिइन् । खाना खाएर सबै यात्रुहरू सुत्ने व्यवस्था मिलाउनतिर लागे । तर, होटेलमा सबै यात्रुका लागि पुग्ने पर्याप्त कोठाहरूको व्यवस्था थिएन । होटेलवालाले सबैलाई कोठा उपलब्ध गराउन नसक्ने जानकारी गरायो । त्यस होटेलको वरिपरि अन्य कुनै होटेलहरू थिएन ।

छिप्पिदो रातसँगै बढेको चिसोले सबैलाई सताउन थाल्यो । त्यहाँ जम्मा भएका यात्रुहरू छट्पटाउन थाले । यत्तिकैमा यात्रुहरूको दयनीय छट्पटाहट देखेर होटेलवालाले भन्यो, ’मेरोमा एउटा हल छ । तपाईहरू मिलेर बस्नुहुन्छ भने बस्नोस् । प्रतिव्यक्ति पाँचसय लाग्छ ।झ उसको प्रस्तावमा सहमति जनाउनुको विकल्प कसैसँग थिएन । सबैजना त्यसै होटेलको हलमा मिलेर बस्न तयार भए ।

होटेलमा लोडसेडिङ थियो । सायद पहिरोको कारणले होला । सबैजना आआफ्नो बिछ्यौना मिलाएर सुत्न थाले । रमेश पनि आफूसँग भएको टावेल ओछ्याएर एउटा कुनामा पल्टियो । सम्झना अलिक परतिर पल्टिएकी थिइन् । रातको करिब बाह्र बजेको थियो । रमेशलाई पिसाब लागेको महसुस भयो । उसले आँखा खोलेर एकपटक सबैतिर हे¥यो । सबैजना सुतिसकेका थिए । यस्तो ठाउँमा पनि कसरी निदाएको होला ?उसले आफैँसँग प्रश्न ग¥यो । सायद दिनभरको थकानले होला, उसले आफूलाई विश्वस्त तुल्यायो । ऊ जुरुक्क उठ्यो । कोठा पूरै अन्धकार थियो । धेरै परबाट एउटा मैनवत्तिको धीमा प्रकाश मुस्किलले देखिन्थ्यो ।

रमेश पिसाब गर्नका लागि बाथरुमतिर लम्कियो । तीव्र अध्यारो भएको हुँदा बाथरुम जाने क्रममा रमेश कोही मान्छेसँग ठोक्कियो र अध्यारोमा लड्ने डरले त्यो मान्छेलाई गर्लम्म अंगालो हाल्यो । त्यो मान्छे अरु कोही नभएर सम्झना रहिछन् । जसको साथमा रमेशले दिनभरि यात्रा गरेको थियो । सम्झनाले पनि उसलाई त्यसरी नै अंगालो हालिन् । त्यसरी अंगालो हाल्ने क्रममा रमेशको हात सम्झनाको संवेदनशील अंगमा पुग्यो । विस्तारै दुवैले एक अर्काको शरीर स्पर्श गरे । त्यसरी स्पर्श गर्दागर्दै उनीहरूको शरीर एकाएक तातो भयो ।

उनीहरूले बेग्लै प्रकारको आनन्द महसुस गर्न थाले । उनीहरू केही बोल्न सकेनन् । मौन भएर बसे । फेरि बोल्न मिल्ने अवस्था पनि थिएन । किनकि त्यहाँ ससाना नानी बाबुहरू पनि थिए । आवाज निकालेर बोल्दा ती बच्चाहरू र अरु मान्छे उठ्ने डर उनीहरूलाई थियो । त्यसैले दुवैले मनमनै वार्तालाप गरे । पच्चीस छब्बीस वर्षकी एकल युवती र तीस बत्तीस वर्षको विवाहित पुरुषबीच एकअर्काप्रति आकर्षण बढेको थियो पनि होला ।

मान्छेको मन न हो बदलिन कति समय लाग्छ र ! उनीहरूले आफ्ना सबै अवस्थिति बिर्सिए । घर, परिवार, छोराछोरी मात्र होइन, कुन ठाउँमा छौँ भन्ने कुरा पनि बिर्सिए । उनीहरू निर्बन्ध भए । परेवाको जोडीजस्तै । उनीहरूभित्र लुकेर रहेको मृगतृष्णा एकाएक छताछुल्ल भयो । अन्ततः जे नहुनुपर्ने त्यो भएरै छोड्यो । उनीहरू एकअर्कामा समर्पित भए । उनीहरूको रात रंगीन भयो । यसरी आवेगमा आएर अपरिचित महिलासँग भएको शारीरिक सम्बन्धका कारण रमेशलाई पछुतो लाग्न थाल्यो ।

छोराछोरी र श्रीमती मात्र होइन सामाजिक मर्यादा र अनुशासन उल्लङ्घन गरेकोमा रमेशलाई आफैँप्रति घृणा उत्पन्न भयो । उसलाई तीव्र बेचैनी र छट्पटी हुन थाल्यो । रमेश रातभर निदाउन सकेन । उकुसमुकुस र तनावका बीच उसको रात बित्यो । भोलिपल्ट बिहान पाँच बजेतिर सबैजना उठे । रमेश पनि उठेर तल ओर्लियो । होटेलमा चना, अण्डा र अन्य ब्रेकफास्ट तयार भइसकेको थियो । सम्झनाले पुलुक्क उसलाई हेरिन् । तर, रमेशले सम्झनालाई सिधा आँखाले हेर्न सकेन ।

ऊ लाजले कायल भएको थियो । बिहानको सात बजेतिर पहिरोले पुरिएको सडक एकतर्फी रूपमा खुलिसकेको थियो । खलासीले सबैलाई बसमा बस्न निर्देशन दियो । सबैजना आआफ्नो सिटमा गएर बसे । रमेश पनि अध्यारो अनुहार लगाउदै आफ्नो सिटमा गएर बस्यो । उसले अझै पनि सम्झनालाई प्रष्ट रूपमा हेर्न सकेको थिएन । सम्झना पनि मौन अवस्थामा थिइन् ।

सायद उनको मनमा पनि ग्लानी र पश्चाताप होला भन्ने अनुमान रमेशले ग¥यो । यसरी मनमा अनेक प्रकारका द्वन्द्वहरू चलाउदै बस नारायणघाट पुगेको रमेशलाई पत्तै भएन । खलासीको नारायणघाट आयो भन्ने आवाजले ऊ झल्याँस्स बिउँझियो । अनि उसले कसैलाई नहेरिकन हतारहतार आफ्नो झोला बोकेर बसबाट ओर्लियो र सरासर अगाडि बढ्यो । अचानक सर ! सर ! भन्दै कसैले उसको पछाडिबाट सर्ट समायो । सर्ट समाउने अरु कोही नभएर उनै सम्झना थिइन् । रमेश टक्क उभियो ।

अनि सम्झनाले भनिन्, हामीबीच रातमा जुन घटना नहुनुपर्ने थियो, भयो । त्यो कुरालाई बिर्सिदिनु होला । हिजोसम्म न हजुरले मलाई चिन्नुहुन्थ्यो, न मैले हजुरलाई चिन्थेँ । अब फेरि हामी कहिल्यै भेट्ने छैनौँ । कुनै संयोगले कतै भेट भयो भने पनि बोल्ने छैनौँ । त्यति भनेर सम्झना आफ्नो बाटो लागिन् । सम्झनाको कुरा सुनेर रमेशलाई अचम्म लाग्यो । साथसाथै उसले शान्तिको महसुस पनि ग¥यो ।

उसलाई ती युवतीको अकल्पनीय बन्धनबाट मुक्त भएको आभास भयो । किन्तु, उसको पीडा कम भएको थिएन । मनमा जस्तोसुकै पीडा भए पनि आफ्नो जिम्मेवारीबाट भाग्नु हुँदैन भन्नेमा रमेश सचेत थियो । मनमा पीडाको बोझिलो भारी बोकेर रमेश अफिसमा पुग्यो । तर, ऊ त्यहाँ एकपल पनि टिक्न सकेन । आफूले ल्याएको फाइल बुझाएर रमेश काठमाडौँका लागि प्रस्थान ग¥यो । बेलुका करिब आठ बजेतिर ऊ आफ्नो घर बानेश्वर पुग्यो । ऊ घर पुग्दा छोराछोरी सुतिसकेका थिए । झोला राखेर फ्रेस भयो र श्रीमती बसेको सोफामा गएर पल्टियो । उसको अनुहार न्याउरो र थकित देखिएको थियो । उसले आफ्नी श्रीमतीसँग खासै कुराकानी गरेन । आँखा चिम्लिएर बसिमात्र रह्यो । उसको त्यस्तो अवस्था देखेर श्रीमतीले भनिन्, के भयो हजुरलाई ? धेरै थकित र गलित देखिनुहुन्छ । बसको यात्राले होला । म तेल लगाएर मालिस गरिदिन्छु । उसले श्रीमतीको कुरा सुनेर पनि नसुने जस्तै ग¥यो । बोल्दै बोलेन, एक शब्द पनि । मौन बस्यो ।

उसको मन रातको घटनाले भारी भइरहेको थियो । उसले आफ्नी श्रीमतीको निर्दोष अनुहार हे¥यो । श्रीमतीको मलिन मुहार देखेर ऊ झनै विछिप्त भयो । त्यो घटना उसको जीवनकै पहिलो र अत्यासलाग्दो थियो । त्यस घटनालाई उसले बाइरोडको बाटोमा घटेको कालो घटनाको रूपमा स्मरण ग¥यो । त्यस्तो कालो रात जीवनमा अब कहिल्यै देख्न नपरोस् भन्ने कल्पना गर्दागर्दै सोफामा कतिबेला निदायो उसले पत्तै पाएन।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।