सधैँ : त्रिलोचन आचार्य (कविता)
कपन अनलाइन
काठमाण्डौ ,असार १४ ।
सधैँ फूलले चम्किँदै बाँच्न जानोस्
सधैँ प्रातले लम्किँदै हाँस्न जानोस्
नदीले सधैँ कल्कली बग्न जानोस्
सधैँ तालले चम्किँदै जम्न जानोस्
सधैँ वृक्ष होस् दानमा तृप्त तृप्त
सधैँ प्यास मेट्दै कुवा होस् प्रदीप्त
हिमाली चुली शान्ति साँचोस् सधैँ नै
र आकाश तारासाथ हाँसोस् सधैँ नै
सधैँ पातले रम्न पाऊन् सलल्ल
सधैँ जूनले प्रेम लाउन् झलल्ल
सधैँ सुस्तरी गीत गाओस् जुरेली
सधैँ फक्रियून् दिव्य बेली चमेली
सधैँ पाखुरा कर्म प्यारो नछाडोस्
र झर्ना बनी रम्य सौन्दर्य बाँडोस्
सधैँ मेघ वर्षा मिली प्रेम लाउन्
सधैँ पौरखी भै जिन्दगानी सजाउन्
सबै बाँच्न जानून् सभ्यता यो सिँगारी
सधैँ खेतले भर्न जानून् भकारी
सधैँ शक्ति होस् चढ्न अग्लो उकालो
सधैँ मिर्मिरे बाँढ्न जानोस् उज्यालोे ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
