आस : सुनिता निरौला पौडेल ( लघुकथा)

आस : सुनिता निरौला पौडेल ( लघुकथा)

कपन अनलाइन

काठमाण्डौ ,फागुन १७।

“हरे ! यसपाली कसरी खेती गर्ने होला ? पानी पर्ने कुनै छेकछन्द नै छैन ।” श्यामले खेतमा हेर्दै बोल्यो ।
सबैतिर खेतका गह्राहरू खडेरीले चिराचिरा परेका थिए । किसानहरू निराश हुँदै गाउँ नै छोडेर हिँड्न थालेका थिए । श्याम निकै सुर्तामा परेर बसेको थियो । तर रामले भने हार खाएको थिएन। भन्दै थियो –“यो समयमा मैले जसरी भएपनि परिश्रम गर्नेछु ।”
उसको आफ्नो सानो खेतमा उब्जनी कम भएपनि कसरी धेरै अन्न फल्छ भनेर दिनरात मेहनत गथ्र्यो । उसले घरमा भाँडाकुडा पखालेका पानी, लुगा धोएका पानी र आकाशमा परेका पानीहरु खाल्डो खनेर थोरै थोरै संकलन गरि राखेकोले धान रोपेको थियो। समयमा गोडमेल गरी मल हालेर हेरविचार गरिरह्यो ।
परिश्रमको फल मिठो हुन्छ, आफ्नो बाबाका कुरा सम्झिरहन्थ्यो ।
नभन्दै झ्यालबाट नियालेर झुलेका सुनौला धानका बालाहरूलाई हेरिरह्यो । आफ्नो खेतमा लहलह धान देखेर यसपाली राम धेरै खुशी भयो ।
उसको मेहनती हातहरूमा नै जीवनको ठूलो आस देख्यो । रामको अनुहारमा पूर्णिमाको जून उदाए जस्तो भयो ।

सहयात्रा : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।