अनुहार किताब : छायाँदत्त न्यौपाने (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,फागुन ८।
उनी सुटुक्क पसे मेरो कोठाभित्र ।
नजिकै आएर –भने सिर्जना हुँदै छ ?
उनको अनुहारतिर फर्केर भनेँ– एउटा लघुकथा पोस्ट्याउन मन लाग्यो अनुहार किताब (फेसबुकाँ) ।
उनले दृष्टि हटाउँदै भने–सिर्जनकर्म सुन्दर कर्म हो तर…
उनको तरले मलाई झस्कायो । सोधेँ किन नि तर ?
उनले थपे– अनुहार किताबले अलिक उच्छृङ्खल बनायो, घरभित्रका कुरा बाहिर छरिए । सार्वजनिक गर्न नहुने निजी कुरा पनि आवेगमा आएर छताछुल्ल पोख्ने देखासिकी गर्ने होडबाजी चल्यो ।
कहाँ त्यस्तो हो र ! अनुहार किताबले कति सूचना दिन्छ, नयाँ नयाँ विषयको जानकारी गराउँछ, मनोरञ्जन उत्तिकै, साथीभाइ भेट हुन्छ ।
अनुअहार किताबमा आउने कुरामा परिवारका सदस्यबिच मतभेद देखाउने, झगडाका सन्दर्भ जोड्ने, कचहरी चलाउने, अड्डा अदालतसम्म पु¥याउने जस्ता विषय अनावश्यक रुपले भड्किलो गरी प्रचारप्रसारमा आए, यति मात्र हैन बुढा बहकिए, गृहिणीले दूध उमाले, भात डढाए, मूल्यवान् समय खेरगइरह्यो । यसलाई के भन्ने ?
ह्या ह्या! तपाईँ पनि ! यस्ता रमाइलोका लाग प्रयोग गरिएका कुरा त नक्कली हुन् कथा र टिकटके कुरा पत्याउने ? यो त भएन नि !
हो, मेरो भनाइ त्यै हो, धेरै समर्थन (लाइक) प्रतिक्रिया (कमेन्ट) दृश्य (भ्युज) का लागि पोस्ट्याइने कमसल सामग्रीले केटाकेटी, युवा, परिवारका सदस्य भाँडिए । अनुहार किताबले कति लोग्नेस्वास्नीबिच शङ्काउपशङ्का बढायो । घर भाँडिए, केटाकेटीले पढाइ लेखाइ छाडे, युवा विलासमा बहकिए । यो राम्रो भयो त ?
हुन त तपाईँले भनेको ठिक हो, बेथिति बढेको छ, म पनि मान्छु तर समाजमा एकले अर्कोलाई हेपेको, सामाजिक मर्यादा विपरीत काम गरेको, कर्तव्य नगरी अधिकारका पछि डौडेको देखाउनु त व्यङ्ग्य गरेको हो नि । त्यसो नगर, ठिक होइन भन्ने सन्देशका लागि व्यङ्ग्यात्मक प्रस्तुति पो हो त ! खै कुरो बुझ्या ?
हो त नि कुरा व्यङ्ग्य हो तर मान्छेले त्यसै गर्नुपर्ने रहेछ भन्ने भयो, त्यसरी बुझ्यो । व्यङ्ग्य भन्ने थाहा पाइएन । बुझाइ र प्रस्तुतिले सकारात्मक दिशानिर्देश गरिरहेको छैन नि ।
त्यसो भए कस्ता सामग्री पोस्ट गर्ने त ल भन्नुस् त, सल्लाह दिनुस् !
यसै भनेर भनिहाल्न त मुस्किल छ, फेरि एक जनाले भनेजस्तो सबैलाई अनुकूल नहोला तर कुनै पनि घटना एकोहोरो हुँदैन । त्यसैले अनुहार किताबमा वा अरुतिर आउने सामग्री सद्भाव फैलाउने होओस्, धार्मिक, सामाजिक सहिष्णु र न्यायिक होस् । यसले द्वेष नबढाओस् न हुन्न र ?
भनेसी दर्शक–श्रोता र प्रस्तोता दुवै पक्ष सचेत इमानदार भई अनुहार किताबको सही उपयोग गरियो भने बेथिति केही कम होला, होइन त !
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
