म, मेरो मुटु र मेरी मुटु : विश्वजित गुप्ता (विशाल)

म, मेरो मुटु र मेरी मुटु : विश्वजित गुप्ता (विशाल)

कपन अनलाइन

काठमाण्डौ ,फागुन ८।

मेरी मुटु त,
मेरो मुटुमा बन्द छिन् ।
बहुला म,
उनी अकलमन्द छिन् ।
म अफ्नो मुटुको अधीनमा छु,
मेरी मुटु स्वच्छन्द छिन् ।

ए, मेरो मुटु,
चलिरहनु निरन्तर,
किनभने तिमीविना,
म बाच्ने छैन् छिनभर,
अनि मेरी मुटु,
मविना के गर्लिन् ?
बिचरा मेरै सौँराइमा,
उनी पनि मर्लिन् ।

मेरो हृदय,
तिमी भइरहनु स्पन्द,
दिने छौँ नजरानास्वरूप,
तिमीलाई मकरन्द,
त्यो पाएलगत्तै पक्कै पनि,
हुने छौ सानन्द ।

हो, मेरो मुटु,
मलाई पनि चाह छ कि,
मेरी मुटुकै मुटुमा,
मेरो मुटुको वास होस् ।
त्यो मुटु यो मुटुको लागि,
र यो मुटु त्यो मुटुको लागि,
जहिले नि खास होस् ।

मौरीले लाखौँ कुसुमबाट रस जुटाएझैँ,
भौँराले सयौँ फूलबारीमा धाएझैँ,
मपनि आफ्नी कलीको लागि,
दर्जनौँ रङ्गका अनि अनेकौँ प्रकारका,
गुलाफहरू भेटेर,
गुलदस्ता बनाउने हतारमा छु ।
त्यो स्तवक मेरो मुटुको तर्फबाट,
मेरी मुटुलाई दिलाउने विचारमा छु ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।