निर्विकल्प :महेन्द्र नेउपाने ( लघुकथा)

निर्विकल्प :महेन्द्र नेउपाने ( लघुकथा)

कपन अनलाइन

काठमाण्डौ ,माघ २७।

“जीवनमा पहिले पटक मन्त्री हुँदा कस्तो लाग्यो ?”भरखरै निर्वतमान भएका मन्त्रीलाई पत्रकारले सोधे ।
“बेला बेलामा मिठा मिठा खानेकुरा खादै परिचारिकाहरुको सेवा शुश्रूषामा रमाउदै गरिएको हवाई यात्रा जस्तै आनन्दमयी ।” उनले मीठो शैलीमा भने ।
“मन्त्री हुँदा कस्तो कस्तो सोंच जाग्दो रहेछ ?” पत्रकारले दोश्रो प्रश्न राखे ।
उनले नढाँटी भने, “यसरी आकाशमा उडान भरिरहदा, कसरी दुष्मनको सफाया गर्ने र आफ्नाको उत्थान गर्ने मात्रै सोच आई रह्यो ।”
“अनि जनता याद आएन ?” पत्रकारले अर्को प्रश्न राखें ।
भु.पु.मन्त्रीले सङ्कोच मान्दै सत्य ओकले, “जति जति माथि उडान भर्दै गर्यौं, जनता उति नै भुसुना जस्तो लाग्ने रहेछ ।”
“अनि अहिले कस्तो लाग्दै छ त ?” पत्रकारको अन्तिम प्रश्नमा जवाफ दिँदै भुतपूर्व मन्त्रीले भने,
“जमिनमा ओर्लिए पछि त सम्झिहाले नि, लोकतन्त्रमा जनता नै जनार्दन हुन् ।”

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।