वादको राग : भलादमी भोला (कविता )
कपन अनलाइन
काठमाडौं, पुस १३।
तिम्रै पछि लाग्दा
घाम आउँछ भन्यौ
कालो बादल हटेर
उज्यालो छाउँछ भन्यौ
मैले पत्याएर उरालेको थिएँ
गगनभेदी नारा
तिमी सँगसँगै मुठ्ठी कसेर
मैले पनि जिन्दावाद भनेको थिएँ
मुर्दावाद भनेको थिएँ
पुलिसको लठ्ठी मेरो ढाडमा पनि
उसै गरी बजारियो
मेरा आँखामा पनि अश्रु ग्याँसको
पिरो धुवा मुटु छेड्ने गरी
पसेकै थियो
तिमीलाई काँधमा बोकेर
म कति उफ्रिएको थिएँ
कति बचाएँ
इटा र ढुङ्गाको चोटबाट
अचेल त्यो सबै फगत जस्तो लाग्छ।
आफूलाई मूर्ख ठानेर
घुँडामा चिउडो अड्याएर
आँसु झारिरहेछु
त्यो अश्रुग्याँस सम्झेर
अहिले तिम्रो आँखाले
मेरो अनुहार चिन्दैन
तिम्रो हातले मेरो सहारा खोज्दैन
क्रान्ति मै धमिरा लागेपछि
च्यातिएको छ वादको गुन्द्री
तिमी ब्याज खान खोजिरहेछौ
बिस्कुन सुकाएर
अब जिन्दावाद भनिरहनु पर्दैन
मुर्दावाद भनिरहनु पर्दैन
ओ ! महोदय
अब हाम्रा लागि
वादको रागले केही गर्दैन ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
