रणको सिपाहीँ : राम आचार्य पुष्पप्रेमी
अस्थित्वको लडाईँमा
रित्तो हातले
संगिनसँगको युद्ध लडिरहेकोछु,
गोला, बारुदले निकालेको
मुस्लो भित्र
धुवाँ र धुलोको रागले
आँखाको खोल्ने सामथ्र्य
कहाँ छ र ?मसँग,
हजारौं मृत शरीरको माझमा
रतगले मुछिएको अस्थित्वको अवषेश
जोगाउन छट्पटाई रहें
धरतिको छातीमा,
स्थिर शरीरमा गतिशील मन
दौडिरहेको थियो
धमनीको बाटो भएर
चेतना खोज्न मस्तिष्कसम्म ।
बेला बेला
राइफलको छर्राले छ्यदविच्छेद
आत्माहरु बर्बराउँथे नजिकै,
कता कता कारुणिक घाइते
आवाजहरुको करकस
ऐया… आत्था…. मरें….स्वर
मेरा मस्तिष्कमा ठोकिन्थे,
निश्चल लमतन्न थिएँ म
मानौ मेरो मृत्यु पनि त्यहिँ कतै छ ।
अनायस यहाँ
अन्यायसँग न्यायले
भिख मागिरहेको छ
मानवअधिकारसँग जन्मसिद्ध
अधिकार मुर्छित हुन्छ
अधिनायकवादसँग सुशासनले
मुन्टो निहुराउँछ
मनसँग मन ठोकिएर
घाइते हुन्छ पल पलमा,
यहि मानवताको विद्रुप विषमताको
अन्धकारमा आफुलाई खोज्न
आफै रणको सिपाहीं बनेर
जीवन अस्थित्वको
लडाईं लडिरहेको छु ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक