सहर चिन्दैन मान्छे : छायाँदत्त न्यौपाने (कविता )

सहर चिन्दैन मान्छे : छायाँदत्त न्यौपाने (कविता )
 कपन अनलाइन
काठमाण्डौ .मंसिर २३ ।

एक जना मान्छे छ सहरमा
उसलाई खै कसले मान्छे भन्छ ?
कसले मान्छे भन्दैन ?
प्रश्न–प्रश्न फेरि प्रश्नहरू चुलिन्छन्
उत्तर आजसम्म भेटेको छैन उसले
कि सही उत्तर कसैसँग छैन वा
उत्तर दिने हैसियत राख्तैन ?
हो, ऊ धेरैले उपयोग गरेको
उखु जस्तै चुसेपछि फालेको छोक्रा
पर अलि पर मिल्काइएको छ
सहरबाट उसलाई अघिदेखि
ऊ सधैं सबैको भलो खोज्ने
समताको वकालत गरी गरी सत्य बोल्ने
अपराधले भरिएको परेछ कि कुन्नि !
समाजले मागेको वर्तमान चिन्न नसकेर
स्वघोषित सकारात्मक मान्छे हुँ भन्छ
तर सहर उसलाई चिन्दैन
उसको आनीबानी जस्तै
विधि व्यवहार पनि उस्तै सरल छ
पराई देख्दैन खालि मान्छे जस्तो
आकृति देख्छ पत्याउँछ साथी हो भनेर
सुखी भई रमाउन बल गर्छ
तर झुक्किन्छ पछारिन्छ
फेरि उठेर गन्तव्य भेट्ने गरी हिँड्छु भन्छ
भन्ने होइन, हिँडिरहन्छ तर फड्को मारेर पर
पुग्ने अरू कोही हुन्छ उहीँ पुगिरहन्छ
ऊ फनफनी घुमाइन्छ एकोहोरो
यो घुमाइएको रहस्यमय थाहा पाउँदा
ऊ धेरै ढिलो भइसकेको हुन्छ
हिजो पनि लुगा धुने मान्छेको सहयोगी
आज पनि उसैको हितैषी घर न घाट !
खै ऊ सहर सहर भन्छ
उसलाई सहर चिन्दैन
ऊ नचिनाई छाड्दिनँ भन्छ
सहर चिन्न मान्दै मान्दैन
हिजोदेखि नमानेको सहर
आज त झन् ढिठ बनेको छ
तर ऊ हार्न जान्दैन
कम्मर बाँधेर हिँडिरहेको छ
शिर उचालेर ऊ…
परको दृश्य नियालिरहेको छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।