जिन्दगानी छ सानको : त्रिलोचन आचार्य ( कविता )
१. म यौटा पथमा लाग्छु अनेकौँ पथ रोज्दिँन
म साधापनमा बाँच्छु भड्किलो हुन खोज्दिँन
म आफ्नै श्रममा बाँच्छु अर्काको श्रम लुट्दिँन
दुःख सहन्छु जे पर्छ अन्याय तर खप्दिँन
२. म मातृ चाहना रोज्छु अनेक चाह राख्दिँन
राष्ट्रको भावना बोक्छु अराष्ट्रवाद मान्दिँन
भन्छु कर्तव्य हो भाग्य भाग्यवाद म जान्दिँन
हात थापेर खाएको मीठो हुन्छ म ठान्दिँन
३. पुज्दै यै देशको माटो उत्साहसाथ हिँड्छु म
लहरा छहरा अग्ला पहरा सब चिन्छु म
टिपेर बुद्धका भाव शान्तिका भाव गाँस्छु म
खिपेर दिलको कान्ति स्वच्छता नित्य साँच्छु म
४. हिमाली ज्योतिको पुञ्ज मन निकुञ्जभित्र छ
पुर्खाको वीरता खुल्ने छातीमा चलचित्र छ
सुन्छु पर्वतका बोली आँखा हेर्छु मधेसको
जहाँ जाऊँ जहाँ खाऊँ भाका बोल्छु म देशको
५. आमा हुन् धरती दुख्ख आमालाई सुनाउँछु
टाकुरामाथि टेकेर म औधि छुन्मुनाउँछु
हेर्दै हिमालको माथ बाबासाथ रमाउँछु
तीन करोड हाँसेर बाँचे म जग्मगाउँछु
६. रीनमा मोजमस्तीको मोह त्यो पाल्न सक्दिँन
भोटो कछाड बेकार हुन् भन्दै फाल्न सक्दिँन
सुखका चाङमा टेकी घाम हेर्छु बिहानको
नभन्नू दुःख खेप्दैछ जिन्दगानी छ सानको ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक